कांग्रेसले हार्ने जान्दाजान्दै पनि चुनाव गराएकोमा देउवालाई धन्यवाद
२५ मंसिर, काठमाडौं । आम निर्वाचनमा वामगठबन्धन विजयी भएको परिणाम आइरहँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले सरकार गठनभन्दा पहिले एमाले र आफ्नो दलबीच एकता हुनुपर्ने प्रस्ताव राखेका छन् । पार्टी एकता् गर्दा दुई दलबीचको भागवण्डा केकसरी गर्नुपर्ने छ भन्ने विषयमा भने खुलाएका छैनन् । आफूहरुको एजेण्डालाई जनताले अनुमोदन गरेकोले आफूहरु पार्टी एकता र सरकार गठनका क्रममा भागवण्डाका लागि झगडा नगर्ने बिबिसीसँगको अन्तरवार्तामा बताएका हुन् ।
सोमबार साँझ बिबिसी नेपाली सेवासँगको अन्तरवार्तामा प्रचण्डले सरकार गठनभन्दा पहिले नै एमाले र माओवादीबी पाटी एकता गर्नुपर्ने प्रस्ताव सार्वजनिक गरेका हुन् । प्राविधि कारणले सरकार गठनभन्दा पहिले पार्टी एकता हुन नसके पनि तत्कालै दुई पार्टीबीच एकता गरिने उनले बताए । तर, पार्टी एकता र सरकार गठनका क्रममा एमाले र माओवादीबीच भागवण्डको विषयमा कुनै समस्या हुन्छ भन्ने आफूलाई नलागेको उनको भनाइ थियो ।
उनले भने भागवण्डा भन्दा पनि अहिले राजनीतिक स्थायित्व चाहिएको छ भागवण्डा मुख्य एजेण्डा होइन । विकास र समृद्धि मुख्य एजेण्डा हो । जसलाई जनताले अनुमोदन गरेका छन् ।
विकास र आर्थिक समृद्धिको आफूहरुको एजेण्डालाई जनताले अनुमोदन गरेकाले जनताको अपेक्षालाई आफूहरुले इमादारिताका साथ पूरा गर्ने प्रचण्डले बताए । पूर्वाधार विकासका कार्यक्रमलाई जोड दिँदै आर्थिक समृद्धितर्फ लम्कने आफूहरुको पहलकदमी हुने उनले स्पष्ट पारे ।
केन्द्र र प्रदेशमा सांसद र मन्त्रीहरुको सङ्ख्या बढी हुने अवस्था आएकोसम्बन्धि प्रश्नको जवाफमा प्रचण्डले सांसदको सङ्ख्या पहिलेभन्दा घटेको उल्लेख गरे । हालको संसदको ६०१ सांसदभन्दा अब २७५ सांसद हुनु कम भएको उल्लेख गर्दै केन्द्र र प्रदेशका मन्त्रीहरुको सङ्ख्या बढी भएकोतर्फभन्दा त्यसले जनताका समस्या हल गर्नेतर्फ ध्यान दिनुपर्ने उनले बताए ।
देशको शासनव्यवस्थामा संरचनागत परिवर्तन भएको हिसाबले प्रदेश सरकारले विकासको गतिलाई अघि बढाउने विश्वास प्रचण्डले व्यक्त गरे । मन्त्री र सांसदको सङ्ख्या इत्यादिले देशमा समस्या नपार्ने बरु यसल विकास र सुशासनका आवश्यकता पूरा गर्न सजिलो बनाउने प्रचण्डले प्रष्ट पारे ।
वामगठबन्धनले विजय हासिल गरेको अवस्थामा प्रचण्डको दलको मुख्य एजेण्डाका रुपमा रहेको प्रत्यक्ष कार्यकारीको एजेण्डा अब स्थापित हुने उनले बताए । देशमा स्थिरता कायम गर्न, भड्किलो र खर्चिलो निर्वाचन प्रणालीको अन्त्य गर्न प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था आवश्यक रहेको प्रचण्डको धारणा थियो ।
मधेसकेन्द्रित दलले उठाएको संविधान संशोधनको एजेण्डा बारे प्रचण्डले वर्तमान संविधान निरन्तर संशोधन हुँदै जान सक्ने संकेत गरे ।
वामगठबन्धन भएपछि कांग्रेसले हार्ने अवस्था देखिएको र यसभित्रका अनेक अप्ठ्याराहरुका बीचमा पनि निर्वाचन गराएकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रचण्डले धन्यवाद दिए । वामगठबन्धनको वर्तमान जितलाई प्रचण्डले जनताकै जित हो भन्दै स्थिरता र विकासको एजेण्डाको जित भएको उल्लेख गरे ।