५ चैत, काठमाडौं । विहीबार भएको पहिलो दिनको एसएलसी परीक्षा देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । काठमाडौंसहित देशभर कुनै अप्रिय घटना नभएको परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ । देशभर कुनै स्थानमा पनि अप्रिय घटना नभएको परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले जानकारी दिएका छन् ।
परीक्षार्थीहरुले विहीबार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा दिएका छन् ।
विहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा समय थियो । तर, कतिपय केन्द्रमा पौने ११ बजे नै परीक्षा सकिएको जिल्ला शिक्षा कार्यालयहरुले जानकारी दिएका छन् ।
परीक्षामा यसपालिदेखि उत्तरपुस्तिकासँगै प्रश्नपत्रमा पनि सिम्बोल नम्बर लेख्नुपर्ने नयाँ व्यवस्था लागू गरिएको छ । परीक्षा हलभित्रै प्रश्नपत्रमा लेखेर चिट चोरिने भएकाले त्यसलाई न्यूनिकरण गर्न यस्तो व्यवस्था गरिएको हो ।
उच्च शिक्षाको लागि पहिलो खुड्किलो मानिने एसएलसी परीक्षा आगामी १६ गते सकिने छ । विक्रम संवत् १९९० सालबाट एसएलसी परीक्षा लिने व्यवस्था गरिएको थियो ।













