बिहीबारदेखि ७५ वटै जिल्लामा सुरु हुने एसएलसीको सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षालाई व्यवस्थित बनाउन यस वर्ष केही नयाँ व्यवस्था गरिएका छन ।
यस वर्षको एसएलसी परीक्षामा सहभागी हुन ५ लाख ७४ हजार ६ सय ८५ परीक्षार्थीले आवेदन फारम भरेका छन । तीमध्ये नियमिततर्फ ४ लाख २६ हजार २ सय १४ विद्यार्थी एसएलसीमा सहभागी हुँदैछन ।
एक्जाम्टेडतर्फ १ लाख ४५ हजार १ सय ८३ जना परीक्षार्थी रहेका छन् । एसएलसी परीक्षाका लागि प्राविधिकतर्फ ३ हजार २ सय ८८ जना परीक्षार्थीले आवेदन फारम भरेका छन । यस वर्षको एसएलसीमा नियमिततर्फ २ लाख १२ हजार ५०४ छात्रहरु सहभागी छन् । छात्राको संख्या २ लाख १३ हजार ७ सय १० छ ।
त्यसैगरी एक्जाम्टेडतर्फ ५९ हजार २ सय ५३ छात्र र ८५ हजार ९ सय ३० जना छात्रा परीक्षामा सहभागी हुनेछन ।
प्राविधिकतर्फ भने छात्राभन्दा छात्रहरुको संख्या बढी छ । प्राविधिकतर्फ २ हजार ३७ छात्र र १ हजार २ सय ५१ छात्रा परीक्षामा भाग लिँदैछन । एसएलसीका लागि १ हजार ८ सय ६२ वटा परीक्षा केन्द्र निर्धारण गरिएका छन ।
सबैभन्दा धेरै काठमाडौंमा ९१ र सबैभन्दा कम मुस्ताङ र मनाङमा १र१ वटा परीक्षा केन्द्र तोकिएको छ ।
हरेक केन्द्रमा एकजना केन्द्राध्यक्ष रहने गरी १ हजार ८ सय ६२ जना केन्द्राध्यक्ष रहने छन । सहायक केन्द्राध्यक्ष २ हजार ४ सय ४०, निरीक्षक २३ हजार १४ र कार्यालय सहयोगी ७ हजार ६ सय ९९ जना खटाइने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
यस वर्षको एसएलसीमा सबैभन्दा धेरै परीक्षार्थी काठमाडौंमा छन् । काठमाडौंबाट ३४ हजार ५ सय ८७ परीक्षार्थी सहभागी हुनेछन । सबैभन्दा थोरै मनाङमा छन् । सो जिल्लाबाट ७४ जनाले एसएलसी दिँदैछन । परीक्षा केन्द्रको सुरक्षाका लागि २७ हजार ९ सय ३० सुरक्षाकर्मी परिचालन गरिनेछ ।
एउटा केन्द्रमा १५ जना सुरक्षाकर्मी रहनेछन् । गत बर्ष १० सुरक्षाकर्मी खटाइएको थियो ।
यस वर्षको एसएलसी परीक्षामा केही नयाँ व्यवस्था गरिएको समेत परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
एसएलसी परीक्षा सकिएको एक हप्ताभित्र कन्ट्रोल लिस्ट वेबसाइटमा राख्ने व्यवस्था मिलाइएको छ । सो लिष्टमा परीक्षार्थीको सिम्बोल नम्बर, नाम, जन्ममिति र ऐच्छिक विषय रहने छ ।













