काठमाडौं, ३० फाल्गुन । विश्वकप क्रिकेट प्रतियोगिता अन्तरगत समूह चरणको अन्तिम खेलमा भारतसँग जिम्बाब्वे ६ विकेटले पराजित भएको छ ।
भारतसँग पराजित भएसँगै जिम्बाब्वे यो विश्वकपको समूह चरणबाटै घर फर्केको छ । न्यूजिल्यान्डको अक्ल्यान्डमा भएको खेलमा जिम्बाब्वेले दिएको २८८ रनको लक्ष्य भारतले ४८.४ ओभरमा ४ विकेट गुमाउँदै भेट्टाएको हो ।
भारतीय कप्तान महेन्द्र सिंह धोनी र सुरेस रैनाले उत्कृष्ट पारी खेल्दै भारतलाई जित दिलाए । खेलमा म्यान अफ दी म्याच रैनाले नटआउट एक सय १० रन जोडे । कप्तान धोनीले नटआउट ८५ रन बनाए ।
भारतले जारी विश्वकपमा समूह चरणका ६ वटै खेलमा सतप्रतिशत नतिजा निकाल्दै क्वाटर फाइनलमा पुगेको छ । अब क्वाटर फाइनलमा उसको भेट छिमेकी मुलुक बंगलादेशसँग हुने छ ।













