
काठमाडौं, फागुन २७ – काठमाडौंको चोभारस्थित मोर्डन इण्डियन स्कूलले शिक्षक कर्मचारीले स्कलु प्रशासनमाथि लगाएको आरोप सबै झुटो भएको दाबी गरेको छ ।
स्कुलका केही शिक्षक र कर्मचारीले वर्षौं काम गर्दा पनि स्थायी नगरिएको, पर्व खर्च र सुत्केरी बिदा नदिइएको भन्दै १२ सुत्रीय माग अगाडि सारेर आन्दोलनको चेतावनी दिएको भोलिपल्ट बुधबार मोर्डन इण्डियन स्कुलको व्यवस्थापनले पत्रकार सम्मेलन गरी व्यवस्थापनमाथि लगाइएको आरोप झुटो भएको दाबी गरेको हो ।
स्कुलका प्राचार्य राजु पिटरले स्कुल व्यवस्थापनले आफ्ना सबै शिक्षक शिक्षिका, कर्मचारी र विद्यार्थीको राम्रो हेरचाह गरिरहेको दाबी गर्दै करार अवधि सकिएका र विद्यार्थीको पठनपाठनमा ध्यान नदिने दुई शिक्षकलाई निकाल्ने निर्णयका कारण केही शिक्षक र कर्मचारी बिरोधमा उत्रिएको बताउनुभयो ।
उहाँले शिक्षक कर्मचारीका गुनासा समाधान गर्न व्यवस्थापन सधैं तत्पर रहेको पनि बताए । १ देखि १२ कक्षासम्म भारतीय पाठ्यक्रम पढाइ हुने मोर्डन इण्डियनमा १ सय ४० जना शिक्षक शिक्षिका कार्यरत छन् । ती मध्ये १ सय जना आन्दोलनको विपक्षमा रहेको स्कुल व्यवस्थापनको दाबी छ ।













