समाचार टिप्पणी
१२ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा गिरिजाप्रसाद कोइरालाको सपना पूरा गर्ने आश्वासन बाँडेकै दिनमा उनैका दलका एक उम्मेदवारले काठमाडौंमा मदन भण्डारीको सपना बाँडेका छन् । मंगलबार प्रचण्डले चितवनको मेघौलीमा गिरिजाको सपना बाँडेकै दिन उनको दलका युवा नेता अनिल शर्माले काठमाडौंमा मदन भण्डारीको सपना पूरा गर्ने आश्वासन दिएका हुन् । चितवनको मेघौलीमा मंगलबार आयोजित चुनावीसभालाई सम्बोधन प्रचण्डले भनेका थिए “शान्ति सम्झौताको अर्का हस्ताक्षरकर्ता गिरिजाबाबु अहिले हुनुहुन्न । उहाँको संकल्प पनि मैले नै पूरा गर्नुपर्छ ।”
क्लिक गरेर हेर्नुहोस् यससम्बन्धि समाचार
त्यसको केही घण्टामै काठमाडौंको नयाँ वानेश्वरमा आयोजित चुनावी सभामा बोल्दै काठमाडौं क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार अनिल शर्माले भने- “जननेता मदन भण्डारीले नेतृत्व गरेको भूमिमा उभिएर भण्डारीले देखेका सपना पूरा गर्न मैले चाहेको छु ।”
यो कुराले दुवै नेतामा आफ्नो दलको एजेण्डामा विश्वास नभएको स्पष्ट पार्दछ । माओवादी नेतृत्व तहदेखि कार्यकर्ता पक्तिसम्म नै आफ्नो दलको एजेण्डा र नेता कार्यकर्ताको जीवनशैलीप्रति मतदाताले विश्वास गर्छन् भन्ने अलिकति पनि आशा नरहेको देखिन्छ । चितवनमा कांग्रेसको समर्थनमा उम्मेदवार बनेका राप्रपा प्रजातान्त्रिकका उम्मेदवार विक्रम पाण्डेले आफूलाई हराउलान् कि भन्ने त्रासले प्रचण्डले गिरिजाबाबुको सपना बेचिरहेका छन् भने मदन भण्डारीको सपना बेचेर भोट पाइहाल्छु कि भन्ने आशमा काठमाडौंको क्षेत्र नं. १ का उम्मेदवार अनिल शर्माले आश गरिरहेका छन् ।
यी दुवै नेताले आफ्नो दलको एजेण्डाप्रति जनताले विश्वास नगर्ने ठानेकै हुन् त ? नत्र त गणतन्त्र र संघीयताको ठूलो एजेण्डा हुँदाहुँदै माओवादी नेतृत्वदेखि कार्यकर्ता तहसम्म आफ्नो एजेण्डामा विश्वास नहुनुपर्ने कारण के हो ? भोट पाउनकै लागि किन गिरिजाबाबुको सपना र मदन भण्डारीको सपना बेचिरहेका छन् माओवादी नेताहरु ?













