प्रचण्ड भन्छन्- ‘गिरिजाबाबुको सपना पूरा गर्ने म मात्रै छु’, पाण्डे भन्छन्- ‘संविधान बनाएँ’
१२ मंसिर, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सर्वसाधारणले चासोका साथ हेरिरहेको चितवन क्षेत्र नं ३ का दुई प्रमुख प्रतिश्पर्धीले मतदाता तान्नका लागि विभिन्न आश्वासन दिने क्रम जारी छ । वामगठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेसको सहयोग समेत लिएर राप्रपा प्रजातान्त्रिकबाट उम्मेदवार बनेका विक्रम पाण्डेले घरदैलो तथा चुनावी सभामा मतदाताको मन आफूतिर खिच्ने प्रतिश्पर्धा जारी राखेका छन् ।
संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका प्रचण्डको रहे पनि पाण्डेले आफूले संविधान निर्माणको भूमिका पूरा गरेको आश्वासन दिन थालेका छन् । स्मरणीय के छ भने धर्मनिरपेक्षता र गणतन्त्रसहितको संविधान जारी भए पनि पाण्डेको दलको एजेण्डामा अहिले पनि राजतन्त्र र हिन्दू राज्य नै रहेको छ । प्रचण्डले स्थायी सरकार र आर्थिक संवृद्धिको कुरा गरिरहँदा पाण्डेले पनि विकासकै आश्वासन दिन थालेका छन् । अर्कोतर्फ कांग्रेसको साथले पाण्डेले जित्लान् कि भन्ने डरले प्रचण्डले गिरिजाबाबुको सपना पूरा गर्ने जिम्मेवारी आफूसँग मात्रै रहेको बताउन थालेका छन् ।
यसै क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब मुलुकमा वाम गठबन्धनको स्थिर सरकार बन्ने दावी गरेका छन् ।
पश्चिम चितवनको मेघौलीमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले भने- “अब देशमा संमृद्धि आउँछ । चितवनको माटोमा टेकेर म देशलाई समृद्धितर्फ डोर्याउन चाहन्छु ।”
शान्ति प्रक्रियाको एक हस्ताक्षरकर्ता आफू जीवित रहेको बताउँदै उनले भने – “शान्ति सम्झौताको अर्का हस्ताक्षरकर्ता गिरिजाबाबु अहिले हुनुहुन्न । उहाँको संकल्प पनि मैले नै पूरा गर्नुपर्छ ।” यो निर्वाचनमा दुई तिहाइ मत वाम गठबन्धनले ल्याउने र आउँदो ५० वर्षसम्म नेपालमा यही गठबन्धनको सरकार रहने दावी पनि उनले गरे ।
उनी चितवन क्षेत्र नं ३ मा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् ।
त्यस्तै चितवन क्षेत्र नं ३ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका वन तथा भू–संरक्षणमन्त्री विक्रम पाण्डेले आज गीतानगरमा आयोजित चुनावीसभामा बोल्दै संविधान निर्माण गर्ने कामको जिम्मेवारी आफूले पूरा गरेको दावी गरे ।
उनले भने – “अबको मेरो जिम्मेवारी विकास हो । म निर्वाचनमा उम्मेदवार हुन मात्रै आएको हैन । वर्षौदेखि यहाँको विकास कार्यमा म साझेदारका रुपमा रहँदै आएको छु ।”
देशको ठूलो पार्टी नेपाली काँग्रेसको साथ आफूलाई रहेकाले आफ्नो जित सुनिश्चित रहेको उनले बताए । उनले भने – “मेरो जीत नै जनताको जीत हो ।”












