विश्वकप क्रिकेटमा न्यूजिल्यान्डका विस्फोटक व्याट्सम्यान ब्रेन्डन म्याक्कुलमले सबैभन्दा थोरै बलमा अर्धसतक पुरा गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् ।
शुक्रबार बिहान भएको इङ्ल्यान्डविरुद्द विश्वकप अन्तर्गतको खेलमा म्याक्कुलमले १८ बलमा ५० रन पुरा गर्दै नयाँ कीर्तिमान बनाएका हुन् । म्याक्कुलमले सन् २००७ को विश्वकपमा क्यानाडाविरुद्द २० बलमा अर्धसतक बनाएको आफ्नै रेकर्ड तोडेका हुन् ।
इङ्ल्यान्डलार्इ ८ विकेटले हराउने क्रममा विस्फोटक पारी खेलेका उनले २५ बलको सामना गर्दै ७७ रन बनाए । छैटौं ओभरमा स्टिभन फिनलार्इ उनले लगातार ४ छक्का हानेका थिए । उनको विष्फोटक पारीमा आठ चौका र सात छक्का सामेल थियो ।
पहिले ब्याटिङ गरेको इंग्ल्यान्ड ३२.२ ओभरमा १२३ रन बनाउँदै अलआउट भएको थियो । जवाफी ब्याटिङमा उत्रेको न्यूजिल्यान्डले १२.२ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । जारी विश्वकपमा आयोजक न्यूजिल्यान्डले लगातारमा तीन खेलमा जित दर्ता गरेको छ ।













