२७ असार, काठमाडौँ । कर छुट दिएर भ्रष्ट्राचार गरेको आरोपमा अख्तियारको हिरासतमा रहेका आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।
शर्माकी पत्नी कल्पना उप्रेती शर्माले विशेष अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतलाई विपक्षी बनाई मंगलबार रिट दायर गरेकी हुन् । उनले दायर गरेको रिट निवदेनमा शर्मालाई गैरकानुनी रुपमा थुनामा राखेको दावी गर्दै थुनामुक्त गर्न माग गरिएको छ ।
रिट निवेदनमा राजश्व विभागका महानिर्देशकको कर दायरा घटाउने वा बढाउने विशेष अधिकार हुने र सोहीअनुसार शर्माले काम गरेको हुँदा थुनामा राख्ने कार्य गैरकानुनी भएको जिकिर गरिएको छ ।
राजश्व निर्धारणमा अनियमितता गरेको आरोपमा आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मालाई गत जेठ १९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी विशेष अदातलमा मुद्दा दायर गरेको छ ।
विशेष अदालतले शर्मालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । सोही आदेशअनुसार शर्मालाई अहिले अहिलेसम्म थुनामा रहेका छन् ।
शर्माविरुद्ध एनसेलको स्वामित्व बिक्री हुँदा पुँजीगत लाभकर नउठाई एनसेललाई उन्मुक्ति दिएको, कर फछ्र्यौट आयोगको सदस्य सचिवसमेत रहेका शर्माले रु २१ अर्ब बराबरको रकम कर मिनाहा गर्न भूमिका खेलेको लगायतका आरोप छ ।













