११ असार २०७४ (काठमाडौँ) । राजधानीका काठमाडौंका वासिन्दाले गुणस्तरीय मासु खान पाउनु दुर्लभ छ । गन्हाएको, कुहेको र खसीको भनी बाख्रीको मासु बेच्ने राजधानीमा अझ डरलाग्दो रहस्य फेला परेको छ । त्यो हो मरेको बाख्रीको मासु बेच्ने गरेको रहस्य । अनुगमनका क्रममा आइतबार मरेका १८ बाख्री काठमाडौं भित्र्याइँदै गर्दा फेला परेको हो ।
काठमाडौँ उपत्यकामा मरेका १८ वटा बाख्री भित्र्याउँदै गरेको अवस्थामा थानकोट चेकपोष्टस्थित पशुपक्षी विकास मन्त्रालयको क्वारेन्टाइनका कर्मचारीले नियन्त्रण गरेका छन् ।
मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको ना ५ ख २७७० नंको यात्रुवाहक बसमा व्यवसायी रामबाबु ठाकुरले चारवटा जिउँदो बाख्री तथा १८ वटा मरेका बाख्री ल्याएको भेटिएको हो ।
पशुपक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीले काठमाडौँ उपत्यकामा मासु आपूर्ति गर्ने उद्देश्यले ल्याइएका ती बाख्री क्वारेन्टाइनका कर्मचारीले जाँच गर्दा भेटिएपछि बसलाई नियन्त्रणमा लिएर व्यवसायी ठाकुरलाई पक्राउ गरेको जानकारी जानकारी दिएका छन् ।
पशु स्वास्थ्य तथा पशुसेवा ऐन– २०५५ ले निर्दिष्ट गरेअनुसार कारबाहीका लागि सिफारिस गरिनेछ । अभियुक्तको अभियोग प्रमाणित भएमा पाँच हजार रुपैयाँ मात्रै जरिवाना गर्न सकिने कानुनी व्यवस्था छ ।













