९ असार, काठमाडौं (२०७४) । प्रहरी महानिरीक्षक हुने दौडमा एकअर्कालाई प्रतिश्पर्धी ठानेर कसरत गरेका नेपाल प्रहरीका दुई विवादास्पद डिआइजी अहिले कुनै जिम्मेवारीविहीन अवस्थामा पेण्डुलम बनेर बसेका छन् । प्रहरी प्रमुख हुने दौड हारेर बसेका डिआइजी जयबहादुर चन्द र नवराज सिलवाल जिम्मेवारीविहीन अवस्थामा दिन विताउन बाध्य भएका हुन् । उनीहरुको अहिलेको अवस्था निराशाजनक र तनावपूर्ण बनेको छ । सरकारद्वारा आइजिपीमा नियुक्त र अदालतको निर्णयद्वारा जिम्मेवारविहीन डिआइजी जयबहादुर चन्दको कुनै विभाग छैन। त्यस्तै, अदालतले आइजिपीमा नियुक्त गर्न आदेश दिएर पनि सरकारद्वारा अस्वीकृत डिआइजी नवराज सिलवाल पनि बिदामा छन्।
सिआइबी प्रमुखको पदमा यथावत् भए पनि उनी तनावले विदामा छन्। पक्राउ पर्न सक्ने डरले केही समय अस्पताल बसेर अस्पतालबाटै एकाएक भागेका सिलवाल अहिले निराशअवस्थामा छन् । सिलवालले आफ्नो कार्यक्षमता मूल्याङ्कनको नम्बर कीर्ते गरेको दावी सरकारले गरेको थियो । सोही कारण सिलवाल तनावमा रहँदै आएका छन् ।
सरकारले १ फागुनमा चन्दलाई आइजिपी बनाउने निर्णय गरेकोमा सोही दिन अदालतले सो निर्णय कार्यान्वयन नगराउन आदेश दिएको थियो। पछि उनको नियुक्ति नै खारेज भएको थियो।
त्यसयता उनले गृहमा हाजिर गर्दै आएका छन्। एआइजीमा बढुवा गरेर उनलाई जिम्मेवारी दिने आश्वासन दिइएको थियो। तर, हालसम्म एआइजी बढुवाको प्रक्रिया नै सुरु भएको छैन। एआइजी नहुँदा सबै विभाग निमित्तका भरमा चलेका छन्। प्रहरीमा कति एआइजी राख्ने भन्ने अन्योल छ। तीन वर्षअघि सरकारले तीनजना मात्र एआइजी राख्ने निर्णय गरेको थियो। हाल एआइजीका दाबेदारहरू धेरै भएकाले दरबन्दी थप्न दबाब छ।
गृहमन्त्री जनार्दन शर्माले मन्त्रीमा नियुक्त भएकै भोलिपल्ट प्रहरीमा बढुवा अघि बढाइने बताएका थिए। बुधबारदेखि बढुवा त सुरु भएको छ, तर सइ तहको बढुवा अघि बढाइएको छ। बुधबार दुई सय सातजना असइलाई सइमा सिफारिस गरिएको छ। नेपाल प्रहरीमा डिआइजीको पद ६ महिनादेखि नै रिक्त छ। त्यस्तै, एसएसपी, एसपीलगायतका दर्जनौँ पद लामो समयदेखि रिक्त छन्। माथिल्लो पदहरू रिक्त भए पनि गृह र प्रहरी नेतृत्व बढुवामा चासो नदिँदा संगठनमा नैराश्यता बढ्दै गएको छ। असारभित्र बढुवाको प्रक्रिया सुरु नभए नया“ आर्थिक वर्ष सुरु भए पनि कात्तिकपछि मात्र बढुवा गर्न पाइने प्रहरी नियमावलीको प्रावधान छ।













