३० जेठ, २०७४ (काठमाडौं) ।असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा देखा पर्ने सुरक्षा चुनौतिको सामना गर्न गृहमन्त्रीले सक्रियता देखाएका छन् । मधेसको एक दल राजपाले निर्वाचन विथोल्ने कार्यक्रम सार्वजनिक गरेका कारण गृहमन्त्रीले त्यसको सामना गर्ने गृहकार्यमा सक्रियता देखाएका हुन् । आयोगलाई सुरक्षाको प्रत्याभूति दिन र समस्या बारे जानकारी लिन मन्त्री शर्मा मंगलबार आफै निर्वाचन आयोग पुगेका थिए ।
दोस्रो चरणको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सञ्चालन गर्ने विषयमा केन्द्रित रहेर गृहमन्त्री जनार्दन शर्मा र प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवसहितका आयुक्तबीच आज निर्वाचन आयोगमा छलफल भएको हो ।
निर्वाचनका लागि गृह मन्त्रालयबाट तयार पारिएकोे सुरक्षा व्यवस्था तथा निर्वाचनको तयारीबारे आयोगबाट भएका प्रगतिका वारेमा उनीहरुबीच छलफल भएको थियो ।
गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि पहिलो पटक निर्वाचन आयोग पुग्नुभएका मन्त्री शर्माले अहिले उब्जेका सुरक्षा चासो र अन्य नीतिगत विषयमा छलफल गरेका थिए ।
गृहमन्त्री शर्माले राजनीतिक तहमा वर्तमान समस्या समाधान गर्न सरकारबाट पहल भइरहेको जानकारी दिँदै आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि यथेष्ट सुरक्षा प्रबन्ध मिलाउन सरकार कटिबद्ध रहेको जानकारी गराएका थिए ।
प्रमुख निर्वाचन आयुक्त डा यादवले आसन्न निर्वाचनका लागि मनोनयनपत्र दर्ता गर्ने कार्यदेखि मतदाता शिक्षा, निर्वाचन प्रचारप्रसार, मतदान तथा मतगणना लगायतका सम्पूर्ण निर्वाचन कार्यक्रम सञ्चालन गर्दा भरपर्दो सुरक्षा व्यवस्था मिलाई सम्बद्ध पक्षमा सुरक्षाको प्रत्याभूति हुन आवश्यक रहेको बताएका थिए ।
छलफलमा आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, इश्वरीप्रसाद पौड्याल तथा सुधीरकुमार शाह, गृह सचिव लोकदर्शन रेग्मी र आयोगका सचिव गोपीनाथ मैनाली सहभागी थिए।













