३० जेठ, २०७४ (काठमाडौं) । राष्ट्रपति विद्यादेवी भण्डारी आज स्विजरल्याण्ड भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेकी छिन् । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सम्मेलनमा सहभागी हुन उनी स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गरेकी हुन् । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) १०६ औं सेसनमा एक बैठक अन्तर्गतको ‘वर्ल्ड अफ वर्क समिट’ मा भण्डारीले सहभागिता जनाउने छिन् ।
उक्त सेसनका तीन प्रमुख वक्तामध्ये एक राष्ट्रपति भण्डारीले नेपालको संविधानद्वारा महिला हकहित र श्रममा हासिल उपलब्धिका विषयमा सम्बोधन गर्नेछिन्। पछिल्लो समय नेपालले महिला नेतृत्वमा हासिल गरेको उपलब्धि र महिला राष्ट्रपतिका नाताले भण्डारीलाई आइएलओले निमन्त्रणा गरेको जनाइएको छ । अन्य दुई मुलुकका राष्ट्रपतिहरु मरिससकी अमिनाह गउरिव–फाकी र माल्टाकी मेरी लुइस कलेरो–प्रेसा पनि उक्त सम्मेलनका प्रमुख वक्ता छन् ।

नेपालले श्रम संगठनको गभर्निङ बोर्डमा सहभागिताको निर्वाचन जितेको भोलिपल्ट भण्डारी त्यसतर्फ लागेकी हुन् । राष्ट्रसंघभन्दा जेठो संस्था आइएलओको गभर्निङ बडीमा नेपालले पहिलो पटक सरकारीस्तरबाट उम्मेदवारी दिएको र नेपालले आइएलओको धेरै पक्षमा हस्ताक्षर समेत गरेकाले नेपालबाट उनलाई निम्त्याइएको हो ।
यस्तो सम्मेलनमा नेपालबाट पहिलो पटक राष्ट्रप्रमुख सहभागी हुन लागेकी हुन् । राष्ट्रपति सहभागी हुने भएकाले नेपालले भोटका लागि पहल भएको र नेपालले गर्भनिङ बोर्डको ‘डेपुटी मेम्बर’मा सफलता हात पारेको जेनेभा स्थित नियोगले जनाएको छ । उक्त संगठनको अघिल्लो वर्षको सम्मेलनमा तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई त्यस्तै प्रकारको भ्रमण पहल भएको थियो ।तर उपलब्धि भएको थिएन र ओली सहभागी हुन पाएका थिएनन् ।
भण्डारी राष्ट्रपति भएपछि यो तेस्रो विदेश भ्रमण हो ।












