२९ जेठ,२०७४ (काठमाडौँ) । संयुक्त अरब इमिरेट्स युएईमा सन् २०१९ मा हुने एएफसी एसियन कप छनोट प्रतियोगिताअन्तर्गत भोलि मंगलबार नेपालले यमनविरुद्ध भिड्ने भएको छ । यसका लागि नेपाली टोली तयार रहेको नेपालका मुख्य प्रशिक्षक योतुकु कोजीले जानकारी दिएका छन् ।
अखिल नेपाल फुटबल सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक कोजीले यमनविरुद्धको खेलमा आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन गर्ने आशा व्यक्त गर्दै यमन गाह्रो प्रतिद्वन्द्वी रहेको बताए।
उक्त प्रतियोगिताको तयारीका लागि नेपालले एक साताअघि भारतसँग मैत्रीपूर्ण खेल खेलेको थियो जसमा नेपाल भारतसँग २–० गोलअन्तरले पराजित भएको थियो ।
त्यस्तै यमनका प्रशिक्षक इब्राहिम मेब्रातोल र कप्तान अरस मोहम्मद इब्राहिमले आफूहरु नेपालसँग खेल्न शारीरिक तथा मानसिक रुपमा तयार रहेको बताए ।
त्यसैगरी, उक्त खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक कोजीले आज २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । टोलीको गोलकिपरमा विकेश कुथु, किरणकुमार लिम्बू र एलन न्यौपाने छन् ।
त्यसैगरी, डिफेन्डरमा विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ, जितेन्द्र कार्की, दिनेश राजवंशी र मानबहादुर तामाङ छनोटमा परेका छन् ।
यस्तै, मिडफिल्डमा सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, अञ्जन विष्ट, हेमन्त थापा मगर, राजेन्द्र रावल, हेमन गुरुङ तथा सुनिल बल रहेका छन् भने फरवार्डमा नवयुग श्रेष्ठ, भरत खवास, अनिल गुरुङ र विमल घर्तीमगर रहेका छन् । यस खेलबाट अनिल गुरुङले भने राष्ट्रिय फुटबल टोलीमा पुनरागमन गरेका हुन् ।
सोही प्रतियोगिताको छनोट चरणको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको थियो । भोलि दिउँसो ३ः०० बजे हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा खेल हुनेछ ।














