२९ कात्तिक, काठमाडौं । नेपाली दौरा सुरुवाल ढाका टोपी लगाई अफ्रिकाको सर्वोच्च शिखर किलिमाञ्जरो तथा अस्ट्रेलियाको सर्वोच्च शिखर कोजियसको उल्टो हिँडेर आरोहण गर्ने कीर्तिमानी विश्व आरोही तथा धावक सञ्जय पण्डितलाई आज ‘द रिभर अफ कम्पनी’ले रु एक लाख ५० हजार सहित सम्मान गरेको छ ।
युवा व्यवसायी एवम् कम्पनीका अध्यक्ष रघु पुरीले पण्डितलाई सम्मानपत्र एवम् उक्त रकमको चेक हस्तान्तरण गरे। पुरी पूर्वाञ्चल क्षेत्रका पूर्वफुटबल खेलाडी हुन् । कार्यक्रममा पुरीले देशको झन्डा र नाम संसारभर फैलाउने साहसिक व्यक्तिलाई आफूले सदैव साथ दिने बताए।
पण्डितले नेपालका सगरमाथा र मनास्लु तथा युरोप, अमेरिका र जापानका सर्वोच्च शिखरको सफल आरोहण गरेका छन् । उनी उल्टो हिँडेर हिमाल आरोहण गर्ने प्रथम विश्व पर्वतारोही हुन् ।
पण्डित अहिले अन्टार्टिकाको सर्वोच्च शिखर आरोहणको सिलसिलामा छन् । पण्डितले सो शिखर आरोहणका लागि रकम जुटाउन लागिरहेका छन् । सरकारसँग पण्डितले सहयोग माग गरेपछि सरकारले सहयोग गर्न लागेको भन्दै त्यसको विरोधका समाचारहरु समेत प्रकाशित भएका थिए । तर, विश्वमा नेपालको नाम चम्काउने पण्डितलाई आरोहणका लागि सहयोग रकम दिन सरकारले आलटाल गरे पनि करोडपति सुजाता कोइरालालाई भने सरकारले विरोधका बाबजुद पनि ५० लाख रकम दिएको छ ।














