२३ असोज, काठमाडौं । राजनीतिक दल त आपसमा राजनीतिक स्वार्थका लागि झगडा गर्नु कुनै अनौठो होइन । तर सरकारले नेपालको उच्च सांस्कृतिक तथा धार्मिक निकायमा नियुक्त गरेका दुई प्रमुख निकायका पदाधिकारी नै नेपालको सांस्कृतिक परम्परामा बाझाबाझ गर्नु कति उपयुक्त होला ? त्यस्तै भयो एक चल्तीको क्लबमा महाअष्ठमीका दिनमा । आफ्नो व्यक्तिगत धारणा जे भए पनि सरकारले दिएको पद र प्रतिष्ठाको समेत मानमर्दन गर्ने गरी आइतबार दुई सांस्कृतिक निकायका पदाधिकारीले एकआपसलाई नङ्ग्याउने कार्य गरे ।
नेपाल सरकारले तिथी मिति एवं चाड पर्व निर्धारण गर्न गठन गरेको उच्च धार्मिक संस्था नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष र विश्वकै प्रसिद्ध धार्मिक स्थल पशुपति क्षेत्र विकास कोषका अध्यक्षबीच एक बद्नाम क्लबमा आइतबार बाझाबाझ भएको हो ।
पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले पशुको मुक्तिका लागि विधिपूर्वक बलि दिनु शास्त्रीय रहेको बताएका ।
उनले बजारमा हल्ला भएजस्तो बलिको संख्या नघटेको समेत दाबी गरे ।
देवीदेवतालाई गरिने बलि प्रसादको रुपमा कसैले मासु सेवन गर्छ भने त्यो राम्रै हुने बताए । शास्त्रमै उल्लेख भएकोले पशु बलि रोक्नेबारे अदालत वा अन्य कुनै निकायले भन्दैमा यो नरोकिने चुनौति गौतमले दिए । ‘अविवेकशील प्राणीलाई मुक्ति दिन मठ मन्दिरमा विधिपूर्वक बलि दिनुपर्छ, मुक्त हुन बलि हुन पाउनु पशुको भाग्य हो, अदालतले जस्तोसुकै आदेश गरे पनि यो प्रथा बन्द हुन सक्दैन, शास्त्रीय मान्यता रोक्नु हुँदैन, विकृति रोक्नुपर्छ,’ उनले भने ।
तर सोही कार्यक्रममा बलिप्रथाको विरोधमा अभियान चलाइरहेका पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. गोविन्द टण्डनले शास्त्रले बलि प्रथालाई हटाउनुपर्छ भन्ने मान्यतालाई प्रोत्साहन दिएको दावी गरे । टण्डनले बदनाम क्लबमा यसरी भाषण गरिरहँदा उनी अध्यक्ष रहेको पशुपति क्षेत्र विकास क्षेत्र कोषको मातहतमा रहेको गृह्यश्वरीमा धमाधम बलि दिने कार्य भैरहेको थियो ।
सदस्य सचिव टण्डनले भने, ‘मानिसमा हुने बोकाको जस्तो कामभावना, भेडाको जस्तो मोह, ऊँटको जस्तो मात्सर्य र मानिसमै हुने मदजस्ता पशुतालाई बलि दिने भनिएको हो, पशुलाई होइन, राणा र राजाको दरबारमा बलि प्रथाको साक्षी बसेकाले बलिलाई शास्त्रसम्मत भनी व्याख्या गरिरहेका छन् ।’
बलि प्रथाका नाममा धर्म निरपेक्ष राज्यले निर्दोष पशुको ज्यान लिन नहुने उनको भनाइ थियो । बलि प्रथाविरुद्ध अभियान सुरु भएपछि हाल बली ४५ प्रतिशतले घटेको उनले दावी गरे ।














