१३ असोज, काठमाडौं । माओवादी केन्द्र निकट पत्रकारहरुको संस्था प्रेस सेन्टर नेपालको एकता महाधिवेशन विहीबारदेखि राजधानीमा सुरु भएको छ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन उदघाटन गरेका छन् । उद्घाटन सत्र सभागृहमा भए पनि बन्द सत्र भने बबरमहलस्थित कार्की बैंकेटमा हुने छ ।
महाधिवेशनमा देशबाट करिब ६ सय प्रतिनिधि सहभागी भएका छन् । महाधिवेशनले ९५ सदस्यीय कार्यसमिति चयन गर्ने छ ।
अध्यक्ष पदमा ओम शर्मा, विष्णु सापकोटा ‘जुगल’, बलराम थापा, दीपक मैनाली, दिपेन्द्र रोकाया, गोविन्द रोका ‘सचिन’ आकांक्षी देखिएका छन् छन् ।
२०६३ चैत १ गते तत्कालीन क्रान्तिकारी पत्रकार संघको पहिलो भेलाले महेश्वर दाहाललाई अध्यक्षमा चयन गर्दा शर्मा महासचिव र सापकोटासहित हालका अध्यक्षका आकांक्षी सबै सदस्य थिए । त्यसैले पनि उनी आफूभन्दा जुनियरहरुसँग चुनाव नलड्ने मनस्थितिमा छन् ।
अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष १, खुल्ला उपाध्यक्ष ३, समावेशी उपाध्यक्ष २ महासचिव १ र उपमहासचिव १ जना चुनिनेछन् ।
यसैगरी सचिव खुल्ला ५, महिला सचिव १, आदिवासी जनजाति सचिव १, मधेसी सचिव १, दलित सचिव १ र कोषाध्यक्ष १ जना चुनिने निर्वाचन समितिले जनाएको छ ।
यसरी १९ सदस्यीय पदाधिकारी र सबै प्रदेश अध्यक्ष गरी २७ सदस्यीय सचिवालय गठन हुनेछ । ६३ जना सदस्यलाई महाधिवेशनले चयन गर्नेछ भने ५ जना सदस्यलाई केन्द्रीय समितिले मनोनित गर्ने प्रेस सेन्टरको नयाँ विधानमा व्यवस्था छ ।













