२१ भदौ, काठमाडौं । शिक्षक सेवा आयोगको परीक्षा दिन भन्दै गाउँबाट हिँडेका शिक्षकहरु अहिलेसम्म नफर्केपछि उत्तरी गोरखाको कासीगाउँ गाविसको मञ्जुश्री मावि अभिभावकले बन्द गरेका छन् ।
शिक्षक अभिभावक संघ अध्यक्ष लुमप्रसाद गुरुङ नेतृत्वको समूहले गत आइतबार विद्यालयमा ताला लगाएपछि विद्यालय बन्द छ । यही भदौ ७ गते आयोगको परीक्षा दिन भन्दै विद्यालय बन्द गरी शिक्षक सदरमुकाम झरेका थिए । भदौ १५ गतेदेखि विद्यालय खुलाउने भनिए पनि १२ जनामध्ये छ जना शिक्षक विद्यालयमा अनुपस्थित रहेपछि अभिभावकले विद्यालयमा ताला लगाएको बताएका छन् ।
अभिभावकले विद्यालयमा ताला लगाएपछि मान्वुस्थित प्रहरी चौकीका प्रहरी कासीगाउँ पुगेका छन् । प्रधान अध्यापक राजकुमार श्रेष्ठ पनि विद्यालयको सम्पर्कमा नभएको भन्दै स्थानीयवासी आसबहादुर घलेले १५ दिनदेखि विद्यालयमा भद्रगोल हुँदै आएको बताए ।
विद्यालयका शिक्षक धनकुमार घलेले प्रक्रिया मिचेर आफ्नी श्रीमतीलाई विद्यालयमा नियुक्ति गरेपछि विवाद भएको स्थानीयवासी मानबहादुर गुरुङले बताए ।
यसैबीच गोरखाका जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले विद्यालय नगएका शिक्षकलाई स्पष्टीकरण सोधिने जानकारी दिएका छन् ।













