३२ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्व अर्थराज्यमन्त्री एवम् नेकपा माओवादी केन्द्र का नेता हरिराज खेवाको निधनले पूर्व क्षेत्रले मात्रै नभएर मुलुकले एक होनहार योद्धा गुमाउनुपरेको बताएका छन् ।
यही साउन १३ गते धनकुटाको सिधुवामा भएको बस दुर्घटनामा परी नेता खेवाको निधन भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा आज नेता खेवाको परिवारसँग भेटवार्ता गर्दै उनले आश्रित परिवारलाई सरकार र पार्टीले पूर्ण सहयोग गर्ने स्पष्ट आश्वासन दिए ।
भेटमा प्रधानमन्त्रीले शोकमा परिवारले देखाएको धैर्य र संयमताप्रति सन्तोष व्यक्त गर्दै छोरीहरुको शिक्षादीक्षामा पार्टीले पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाले जानकारी दिए।
भेटमा सहभागी नेता खेवाकी श्रीमती गीता गुरुङका अनुसार प्रधानमन्त्रीले दुई छोरी लाराक र गुराँसको शिक्षादीक्षामा सरकारले सहयोग गर्ने तथा परिवारलाई रोजगारीको प्रबन्ध गर्ने बचन दिएका छन् । यस्तै नेता खेवाको राजनीतिक उत्तराधिकारीका रुपमा उनकी श्रीमतीले राजनीतिक जीवन सुरु गर्ने विषयमा समेत प्रधानमन्त्रीसँग छलफल भएको थियो।













