३१ साउन, काठमाडौं । नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनमा बन्दसत्र नगरी नयाँ नेतृत्वका लागि विवादका बीच उम्मेदवारी दर्ता भएको छ ।
निर्वाचन समितिले आज बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने समय तोकेको थियो । नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपामा अहिले महाधिवेशन गर्न गठित निर्देशक समिति र नेविसङ्घका नेताहरुको छलफल भने दिनभर जारी छ ।
निर्वाचन समितिको बैठक नबसी निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको भन्दै दुई सदस्यले असहमति जनाउदै आएका छन् । समिति सदस्यद्वय कृष्णप्रसाद पनेरु र मेघराज पोखरेलले समिति संयोजकले पार्टी नेताको इसारामा चली स्वतन्त्र ढङ्गले काम नगरेको आरोप लगाए ।
शनिबार राति सार्वजनिक गरिएको मतदाता नामावलीमा ४०० उजुरी परेका छन् । त्यसको छानबिन नगरी समितिको बैठकसमेत नडाकी निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको पनेरुले बताए ।
दाबी विरोधमाथि जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशनको समय साँझ ५ः३० बजेसम्म तोकिएको छ । उम्मेदवारबाट नाम फिर्ताको समय ५ः३० देखि ७ः३० बजेसम्म छ । बेलुकी ९ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
भोलि ३२ गते मङ्गलबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म काँग्रेस केन्द्रीय कार्यालय सानेपामा मतदानको कार्यक्रम राखिएको समिति संयोजक खरेलले जानकारी दिए ।
१०० जना विद्यार्थी नेताले विभिन्न पदमा उम्मेदवारी दिए पनि विवादका कारण अध्यक्ष र महामन्त्रीमा कम उम्मेदवारी परेको छ ।













