१९ साउन, काठमाडौं । अख्तियारको छानविन प्रक्रियामा रहेका पत्रकार कनकमणि दीक्षितको १८ रोपनीभन्दा बढी ललितपुरको जग्गा सरकारले लिने निर्णय भएको छ । अख्तियारको निर्देशनमा जिल्ला भूमिसुधार कार्यालय ललितपुरले कनकमणि दीक्षित परिवारको हदबन्दीभन्दा बढी भएको जग्गा सरकारको नाममा ल्याउने निर्णय गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा कार्यालयले एक साताअघि कनकमणि दीक्षित, कमलमणि दीक्षित र कुन्दनमणि दीक्षितका नाममा सात दिने म्याद जारी गरेको थियो। दीक्षित परिवारले प्रमाण नजुटाएपछि जग्गा सरकारले लिने निर्णय गरेको हो।
भुमिसुधार कार्यालयको वुधबारको बैठकले दीक्षित परिवारको नाममा रहेको हदबन्दीभन्दा बढी जग्गाको स्वामित्व सरकारले लिने निर्णय गरेको हो।
ललितपुर उपमहानगरपालिकाको वडा नम्बर ३ मा रहेको १८ रोपनी ३ आना जग्गा सरकारका नाउँमा ल्याउने निर्णय गरिएको ललितपुर भूमिसुधार कार्यालयका सूचना अधिकृत रत्नमान उदासले जानकारी दिए ।
कनकमणि दीक्षित भ्रष्ट्राचार मुद्दामा थुनामा बसेर मुक्त भएपछि अख्तियार प्रमुखविरुद्ध दीक्षित परिवार लागेको छ । डा. गोविन्द केसीका मागमा अख्तियार प्रमुखलाई कारवाहीको माग राख्ने योजना समेत कनकमणिले नै बनाएका समाचारहरु प्रकाशित भैरहेका छन् ।
संयोगको कुरा के भने माओवादीका तीव्र आलोचक कनकमणिको १८ रोपनी भन्दा बढी जग्गा सरकारले कब्जा गर्ने दिन र माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने दिन एउटै परेको छ । माओवादीको खेदो खन्ने व्यक्ति भन्दै कनकमणिलाई माओवादीले समेत डलरमणि भन्ने गरेको छ ।













