१८ साउन, काठमाडौं । दुगड समूहले हानिकारक जुस विक्री गरेको तथ्य खुलेको छ । विरामी र बालबालिकाले जुसका रुपमा खाने फ्रुटी हानिकारक अवस्थामा भेटिएपछि २ लाखभन्दा बढी प्याकेट सरकारी अनुगमन टोलीले नष्ट गरेको छ ।
सतुङ्गलस्थित दुगड फूड्स एण्ड बेभरेजको गोदाममा रहेका २ लाख साना प्याकेट फ्रुटी खान नमिल्ने र मानिसको स्वास्थ्यमा हानि पुर्याउने किसिमका भेटिएपछि सरकारी अनुगमन टोलीले नष्ट गरेको हो।
यसअघि नै आपूर्ति व्यवस्थापन विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं तथा उपभोक्तावादी संस्थाहरुको संयुक्त अनुगमन टोलीले उद्योगमा रहेको प्लान्ट तथा गोदाममा समेत सिलबन्दी गरेको थियो।
बजारमा बिक्री नभई म्याद सकिएका फ्रुटी फिर्ता ल्याएर त्यसमै नयाँ लेबलिङ गर्दै पठाउने गरेको पाइएपछि अनुगमन टोली दुगडको गोदाममा पुगेको थियो।
टोलीको नेतृत्व गरेका आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका निर्देशक रामचन्द्र काफ्लेका अनुसार २ लाख फ्रुटीको अध्ययन तथा अनुसन्धान गर्न उद्योगमा सिलबन्दी गरिएको थियो। काफ्लेले फ्रुटीका बट्टा फुलेको, टुटेफुटेको तथा मानव स्वास्थ्यका लागि हानिकारक अवस्थामा पाइएका कारण नष्ट गरिएको बताए।















