१० साउन, काठमाडौं । १५ दिनदेखि आमरण अनशनमा रहेका डा गोविन्द केसीले आज सोमबार अनशन तोड्ने भएका छन् । सरकारी वार्ता टोली र केसीबीच चारबुँदे सहमति भएपछि उनको अनशन तोडिने भएको हो ।
आइतबार राति अबेर सरकारी टोलीकातर्फबाट स्वास्थ्य सचिव र डा केसीले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
डा केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच लगातार भएको छलफलपछि सहमति जुटेको हो । सहमतिको मस्यौदा लिएर डा केसीका प्रतिनिधि शिक्षण अस्पताल पुगेका थिए ।
एमाले अध्यक्ष केपी ओली पदमुक्त भएकै दिनमा मनमोहन मेडिकल कलेज एमाले नेताहरुले संचालन गर्न नपाउने गरी केसीसँग सहमति भएको हो ।
सरकार र डा केसीबीचको सहमतिसँगै मनमोहन अस्पतालको विवाद अन्त्य भएको देखिएको छ । चारबुँदे सहमतिमा नेपाल स्वास्थ्य सहकारी संस्था लिमिटेडद्धारा प्रस्तावित स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतको स्वयम्भूस्थित अस्पताल भवन र दहचोकको बेसिक साइन्स भवन स्व मनमोहन अधिकारीको नाममा सञ्चालन हुने गरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले किन्ने उल्लेख छ । यसका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई रकम भने सरकारले उपलब्ध गराउनेछ ।
एमाले नेताहरुले सहकारीमार्फत यो अस्पताल चलाउन लागेका थिए । तर, डा केसीले निजी क्षेत्रलाई अस्पताल सञ्चालन गर्न दिने सरकारी नीतिको विरोध गर्दै आए ।
पछिल्लो पटक नेपाल स्वास्थ्य सहकारीले आफ्नो भौतिक संरचना खरिद गर्न सरकारलाई भनेको थियो । तर, हालै मात्र एमाले नेताहरुले प्रधानमन्त्रीलाई भेटेर यो विवाद छिटो मिलाउन र स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकलाई अन्तिम रुप दिन आग्रह गरेका थिए ।
अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनु पर्ने केसीको मागको भने सम्बोधन भएको छैन । कार्कीको विषयले संसदमा प्रवेश भएकोले त्यसको समाधान संसदबाट नै हुने भनी यस मागलाई सम्बोधन नगरिएको हो । अर्कोतर्फ केसीको यो माग कार्कीसँग प्रतिशोध राखेका पत्रकार कनकमणि दीक्षितको भएकोले पनि सरकारी टोलीले सम्बोधन गर्न आवश्यक ठानेको थिएन । केसी स्वयम्ले पनि यस कुरामा अडान लिएनन् ।













