२९ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड डेरा सर्ने तयारीमा लागेका छन् । विगत पाँच वर्षदेखि बस्दै आएको लाजिम्पाटस्थित डेराबाट प्रचण्ड अब खुमलटारको नयाँ डेरामा सर्ने भएका हुन्।
प्रचण्ड लाजिम्पाटमा भाडाको घरमा बस्दै आएका थिए । यद्यपि उनी बसेको यो घरका विषयमा विभिन्न टिकाटिप्पणी पनि हुँदै आएका छन् । उनी हाल बसेको घर कुनै व्यापारीले उनलाई उपहार दिएको हल्ला पनि नचलेको होइन । उनी सर्न लागेको नयाँ घर पनि भाडामै भएको बताइएको छ । खुमलटारमा दाहालले सर्न लागेको घर कसको हो र उनले कति भाडा तिर्ने हुन् भन्नेबारे केही खुलाइएको छैन।
प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार खुमलटारको डेरामा केही सामान पनि सार्न सुरु गरिसकिएको छ। एकदुई दिनमै प्रचण्ड निवास खुमलटारमा सर्ने समेत सचिवालयले जनाएको छ ।
२०६३ मा शान्ति प्रक्रिया सुरु भएपछि काठमाडौं आएका लामो समय नयाँबजारमा भाडाको घरमा बसेका थिए। त्यसपछि उनी पाँच वर्षअघि लाजिम्पाट सरेका थिए।
अहिलेको घर प्रचण्डले किन छाड्न लागेका हुन् भन्ने कुरा पनि खुलेको छैन । लाजिम्पाटमा साँगुरो भएकोले खुमलटारमा सर्न लागेको उनको सचिवालयले जनाएको छ । तर लाजिम्पाटको घरमै प्रचण्डका छोरा प्रकाश दाहालको निधन भएकोले र छोराको सम्झनाबाट मुक्ति पाउनका लागि नै प्रचण्ड र उनको परिवार त्यहाँबाट डेरा सर्न लागेको प्रचण्ड निकट स्रोतले बतायो ।













