२३ साउन, काठमाडौं । निर्धारित तौलभन्दा कम तौलको सिमेन्ट बेच्ने र फोहोर पानी बेच्ने र अस्पतालको क्यान्टिनमै गुणस्तरहीन खानेकुरा बेच्ने पसलहरुमाथि कारवाही अगाडि बढाइएको छ । कम मात्राको सिमेन्ट बेच्ने र अनुपयुक्त जारमा पानी भरेर वेच्ने पसलमा सिलबन्दी गरिएको छ भने पाटन अस्पताल परिसरमा संचालित क्यान्टिन संचालकलाई विभागमा उपस्थितिका लागि निर्देशन दिइएको छ ।
आपूर्ति मन्त्रालय, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले आइतबारदेखि सुरु गरेको विशेष बजार अनुगमनका क्रममा अखण्ड मेडिकल सेन्टर, बत्तीसपुतलीले स्वीकृतिपत्र नवीकरण नगरेको, प्रयोगशाला परीक्षण प्रतिवेदन र सम्बन्धित व्यक्तिलाई दिइएको प्रतिवेदन फरक फरक पाइएकाले सिलबन्दी गरी सात दिनभित्र विभागमा आउन निर्देशन दिएको छ ।
त्यसैगरी निर्माण सामग्रीतर्फ बनस्थलीमा रहेको संस्कार ट्रेडिङमा रहेको ३०१ बोरा सिमेन्टको तौल परीक्षण गर्दा ६९ बोरामा अनियमितता देखिएकाले सिलबन्दी गरी तीन दिनभित्र विभागमा आउन निर्देशन दिएको विभागमा निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिनुभयो ।
पानी राख्नका लागि अयोग्य जारमा पानी नराख्न यही साउन १८ गते नै दिइएको निर्देशन पालना नगरेको पाइएपछि टोखास्थित पिस स्प्रिङ वाटर प्रालिबाट २८ तथा वेभरेन्ज प्रालिबाट २१ पुराना र कुच्चिएको जार नष्ट गरी सात दिनभित्र विभागमा आउन निर्देशन दिइएको छ ।
त्यस्तै ललितपुर पाटन अस्पतालमा सञ्चालित प्राप्ति होटल एण्ड चमेनागृहबाट १३ पोका लेबल नभएको चाउमिन नष्ट गरिएको छ । लेबल नभएको सामग्री वितरण गरिएको, अत्यन्तै फोहोर रहेको र अस्पतालसँगको सम्झौतासमेत देखाउन नसकेका हुनाले सबै कागजपत्रसहित तीन दिनभित्र विभागमा आउन चमेनागृहलाई निर्देशन दिइएको छ । अनुगमन संयोजक निरज घिमिरे, टीकाराम पोखरेल, रमेशकाजी श्रेष्ठसहितको टोलीलेसोमबार मात्र काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका ५२ पसलको अनुगमन गरेको थियो ।













