विद्यार्थी र यातायात मजदूर दुर्व्यसनका सिकार
८ साउन, काठमाडौं । मुलुकमा हाल लागुऔषध प्रयोगकर्ताको संख्या करिब एक लाख रहेको प्रहरीले जनाएको छ । काठमाडौँ, पोखरा, बुटवल, धरानलगायत शहरमा लागूऔषध दुर्व्यसनीको संख्या अरु शहरको तुलनामा बढी रहेको जनाइएको छ ।
लागूऔषध प्रयोगकर्ता खास गरी १४ देखि २५ वर्ष उमेर समूहका भएको पाइएको छ । पछिल्लो ६ वर्षमा लागूऔषध दुर्व्यसनीको संख्या दोब्बर पुगेको तथा सात प्रतिशत महिला रहेको जनाइएको छ ।
पछिल्लो समय विद्यार्थीका अतिरिक्त यातायात मजदूरले पनि यसको प्रयोग गरेको पाइएको ब्युरोले जनाएको छ । लागूऔषधका दुव्र्यसनीले हाल ससाना समूहमा यसको प्रयोग र व्यवसाय गर्दै आएको तथ्यांक प्रहरीले फेला पारेको छ । एक पटक दुर्व्यसनीमा परिसकेका व्यक्तिलाई लागूऔषधको व्यवसायमा पुनःसंलग्न हुन यसको ओसारपसारमा संलग्न गिरोहले प्रोत्साहन गर्ने गरेको प्रहरीको ठम्याइ छ ।
अवैध हातहतियारको व्यापारपछि दोस्रो ठूलो व्यवसायका रुपमा गिरोहले लागूऔषध ओसारपसारलाई चलाउँदै आएको छ । हातहतियारको अवैध ओसारपसार र लागूऔषधको व्यवसाय अन्तर्राष्ट्रिय समस्याका रुपमा रहँदै आएको छ ।
यसैबीच प्रहरीले २ हजार ३६७ थान लागूऔषध एम्पुलसहित दुई जनालाई आइतबार पक्राउ गरेको छ ।
नेपाल प्रहरी, लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको विशेष टोलीले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका– ७ बाट पक्राउ गरेकामा काभ्रेपलाञ्चोक पनौती नगरपालिका वडा नं १ का दिनेश थापा र तेह्रथुम आठराई नगरपालिका–४ घर भई नयाँ बजार बस्ने पदम आले मगर रहेको लागुऔषध ब्युरोका प्रमुख धिरु बस्नेतले जानकारी दिए ।
निजहरुका साथबाट रु ४७ हजार नेपाली र एक हजार ९२० भारतीय रुपैयाँ पनि बरामद गरिएको छ ।













