१० असार, २०७४ (काठमाडौं) । उपभोक्तालाई ठगी गरी पेट्रोलियम विक्री गर्ने पेट्रोल पम्पमाथि नापतौल तथा गुणस्तर विभागले अनुगमन र कारवाही तीव्र बनाएपछि यहाँका पेट्रोल पम्पले अब पेट्रोल नै नबेच्ने धम्की दिएका छन् । अनुगमन गर्ने कर्मचारीकै मिलेमतोमा पेट्रोल कम दिने मेसिन जडान गरिएको तथ्य केही समयपहिले नै खुलेको थियो ।
मिसावट र मात्रामा कमी गरेका कारण राजधानीका पेट्रोल पम्प बाराम्बार कारवाहीमा पर्दै आएका छन् । राजधानी काठमाडौंलगायत वाग्मती अञ्चलभरि असार २० गतेबाट पेट्रोलको बिक्री वितरण रोक्ने धम्की व्यवासायीहरुले दिएका हुन् । ‘सिंकेज एण्ड वर्किङ लस’ अत्यधिक भएको र त्यसको पूर्ति आयल निगमले नगरिदिएको भन्दै व्यवसायीले आन्दोलन गर्ने बताएका छन् ।
‘टेक्निकल लस’बारे पटक पटक ध्यानाकर्षण गराउँदा पनि माग पूरा नभएको भन्दै वाग्मती पेट्रोलियम डिलर्स एशोसिशयन अध्यक्ष अच्युतबहादुर खड्काले डिजेलको नोरोकिने तर पेट्रोल भने २० गतेबाट बेच्न बन्द गर्ने बताए ।
२० गतेसम्म आफ्ना कामगहरुको सुनुवाई नभए काठमाडौं उपत्यकासहित काभ्रेपलान्चोक, धादिङ, दोलखा, सिन्धुपाल्चोक, रामेछाप लगायतको जिल्लामा पेट्रोल बिक्री नगरिने उनले बताए ।
‘हामी २० गतेसम्म सरकारलाई हाम्रो माग पुरा गर्न समय दिन्छौं’ अध्यक्ष खड्काले भने, ‘पेट्रोल ढुवानी गरेर बेच्दासम्म हुने टेक्निकल लसहरुको सम्बोधन नहुँदा घाटा भएकाले पेट्रोल बेच्नै नसकिने भयो ।’
पेट्रोलियम कारोबार गर्दा तेल आयल निगमबाट ल्याएको मात्रा नपुगेको कुरा गुणस्तर विभागले प्रमाणित गरेको दावी गरेका छन् ।
तर आयल निगमले भने पूरा मात्रा पेट्रोलियम पम्पमै लगेर खन्याउने भएपछि थप क्षतिपूर्ति दिन नसकिने जनाएको छ । आयल निगमका प्रवक्ता सीतारम पोखरेलले डिपोमा तेल भर्दा एशोसियसनकै रोहबरमा तेल भर्ने गरेको बताए । पम्पमा ल्याएर खन्याउँदा पनि पुरा परिमाणकै तेल भएको प्रमाणित गर्दै अनलोड गरिने गरेको जानकारी दिएका छन् ।
निगमले अहिले पनि व्यवसायीहरुलाई केही प्रतिशत क्षतिपूर्ति दिइरहेको छ । तर व्यवसायीहरुले बढी नाफा कमाउने उद्देश्यका साथ उपभोक्तालाई दुःख दिने गरी पेट्रोल विक्री रोक्ने धम्की दिएका छन् ।













