१ असार, २०७४ (काठमाडौं) । सरकारले प्रदेश नम्बर २ को चुनाव असोज २ गते गर्ने निर्णय सरकारले गरे पनि निर्वाचन आयोगले भने सरकारको निर्णयप्रति आफ्नो सहमति नभएको दोहोर्याएको छ ।
आयोगको असहमतिका बीच सरकारले राष्ट्रिय जनता पार्टीसँग प्रदेश नम्बर २ को चुनाव सार्ने सहमति गर्दै मन्त्रीपरिष्दबाट निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आयोग पदाधिकारीहरुलाई बोलाएर प्रदेश नम्बर २ मा असोज २ गते चुनाव गर्ने प्रस्ताव राखेका थिए ।
तर, सरकारको प्रस्तावमा आयोगले सहमति जनाएको थिएन । चुनाव सार्न सहमति नजनाएको भन्दै प्रमुख आयुक्त अयोधीप्रसाद यादवले भने, ‘नो कमेन्ट ।’
आयोगका सचिव गोपीप्रसाद मैनालीले आफूहरुको असहमतिको कुनै अर्थ नहुने भएपनि आफूहरु खुसी नभएको बताए ।
आयोगले असहमति जनाए पनि चुनावको मितिबारे निर्णय गर्ने अधिकार सरकारसँग रहेकोले आयोग नतमस्तक बन्नुपर्ने अवस्स्था आएको छ ।













