२९ जेठ, २०७४ (काठमाडौं) /सोमबार सेयर बजार करिब दश अंकले घटेको छ । बजार परिसूचक नेप्से ९.९७ बिन्दुले घटेर १५८०.५२ अंकमा पुगेको हो। परिसूचकमा आएको गिरावटसँगै कारोबार रकममा समेत कमी आएको छ ।
सोमबार १ सय ३८ कम्पनीको ४९ करोड ८८ लाख ९६ हजार ३ सय ५४ रुपैयाँको ७ लाख ९८ हजार ६ सय १३ कित्ता शेयर खरिदविक्री भएको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.०२ ले घटेर ३३५ं४ विन्दूमा पुगेर बजार बन्द भएको छ ।
लगानीकर्ताले आपूर्ति बढाउँदा परिसूचकमा गिरावट आएको हो । अर्कोतर्फ बैंक तथा वित्तीय संस्थामा ब्याजदर बढी भएका कारण लगानी निक्षेपतर्फ आकर्षित हुँदा बजारमा लगानी कम भएको लगानीकर्ताको विश्लेषण छ ।
त्यस्तै चालू आर्थिक वर्षमा साधारण, बोनस र हकप्रद शेयर गरी झण्डै पचास अर्बको शेयर सूचिकृत भएको र त्यसले गर्दा बजारमा आपूर्ति बढ्न गइ बजार घटेको हो । सोमबार कारोबार भएका सबै समूहमा गिरावट आएको छ ।
सबैभन्दा बढी होटल तथा जलविद्युुत समुहमा गिरावट आएको छ । सोमबार सबैभन्दा बढी आरएसडिसी लघुवित्तको शेयर खरिद विक्री भएको छ ।
लघुवित्तको ५ करोड ४४ लाखभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । सबैभन्दा बढी वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा बढी एभरेष्ट बैंकका अग्राधिकार शेयर धनीहरुले गुमाएका छन् ।













