२६ जेठ, २०७४ (काठमाडौँ) । देशको राजधानी काठमाडौंमा विक्री हुने मासु ताजा पाउन मुस्किल छ । मासुका लागि महङ्गो मूल्य तिर्न बाध्य उपभोक्ताहरुले सडेको मासु खान बाध्य छन् अनुगमन र कारवाही प्रभावकारी नहुँदा । सडेको मासु बेच्ने र
उपभोक्ताको स्वास्थ्यमा गम्भीर लापारवाही गर्नेलाई कडा कानुन नभएका कारण दोषीहरुले उन्मुक्ति पाउने गरेका छन् ।
यस्तै घटना देखियो शुक्रबार पनि राजधानीमा । आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागले केही पसलमा मात्रै अनुगमन गर्दा पनि ३०० केजीभन्दा बढी खसी र कुखुराको मासु खान नहुने अवस्थाको भेटिएको हो । अनुगमन टोलीले सो मासु नष्ट गरेको छ ।
देवी मिट स्टोर नख्खु ललितपुरबाट २०८ किलो, आधुनिक गङ्गा कोल्ड स्टोर नख्खु ललितपुरबाट ९ किलो र लिडिया मिट सप भनीमण्डलबाट ५२ किलो गरी जम्मा २७९ किलो सडेगलेको र किरा परेको मासु टोलीले नष्ट गरेएको हो ।
तीमध्ये आधुनिक गङ्गा कोल्ड स्टोरमा सरसफाइ नभएको र अत्यन्त फोहोर रहेकाले सिलबन्दी पनि गरिएको छ ।
अनुगमन अधिकृत ढुण्डीराज पोखरेलले माछामासु क्षेत्रमा ठूलो समस्या रहेको बताए ।
गर्मी मौसममा कुहेको मासुका कारण अत्यन्त खतरनाका रोग लाग्ने र महामारी फैलने गर्दछ । त्यसैले मासु किन्नुभन्दा पहिले सचेत हुने हो कि ?













