२६ जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विपरीत ध्रुवमा रहेका दुई शक्तिको मुखमा बुझो लगाउने गरी आफ्नो अवधारणा सार्वजनिक गरेका छन् । भरतपुरको घटना उचालिरहेको एमाले र संविधान संशोधनको अत्तो थापिरहेका मधेसी दल राजपालाई देउवाले बोल्ने अवस्था नराखी आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
शुक्रबार व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै देउवाले थानीय तहको दोस्रो चरणको निर्वाचनपछि संविधान संशोधन गर्ने प्रतिबद्धता जनाउँदै राजपालाई निर्वाचनमा सहभागी हुन आग्रह गरे । दोस्रो चरणको निर्वाचन तोकिएकै मितिमा गराई छाड्ने प्रतिबद्धता उनले जनाए । असार १४ पहिले संविधान संशोधन सम्भव नभएकोले निर्वाचनमा सहभागी हुन राजपालाई देउवाले आग्रह गरे ।
स्थानीय तहको दोस्रो चुनाव सम्पन्न भएपछि विपक्षी दललाई समेत सहमतिमा ल्याएर संविधान संशोधन गर्ने आश्वास देउवाको थियो ।
आफूहरुले चाहँदाचाहँदै पनि अहिले संविधान गर्न नसकिएको बताउँदै देउवाले चुनावपछि भने आफूल संशोधन गराएरै छाड्ने विश्वास व्यक्त गरे ।

यसैबीच देउवाले भरतपुरको मतपत्र च्यातिएको कुरालाई धेरै नउचाल्न एमालेलाई आग्रह गरे । मतपत्र बिगतमा पनि च्यातिएको भन्दै उनले यसबारे निर्णय गर्ने अधिकार संवैधनिक निकाय निर्वाचन आयोगको भएको उल्लेख गरे । मतपत्र विगतमा पनि च्यातिएको उल्लेख गर्दै देउवाले भविष्यमा पनि च्यातिने कुराको ग्यारेन्टी कसैले लिन नसक्ने बताए ।
भरतपुरको घटना अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै उनले दोस्रो चरणको निर्वाचनपछि मात्रै भरतपुरको निर्क्योल गर्ने बताए ।
मतपत्र च्यातिएको नजिर पछि पुनः मतदान गराउँदा दोस्रो चरणमा यस्ता घटना दोहोरिने चिन्ता एमालेले व्यक्त गर्दै आएको छ । तर दोस्रो चरणको निर्वाचनपछि मात्रै भरतपुरतिर लाग्ने प्रधानमन्त्रीको आश्वासनले एमालेको मुखमा बुझो लागेको छ । त्यस्तै संविधान संशोधन गर्ने कार्य निर्वाचनपछि मात्रै गर्ने प्रतिबद्धताका कारण एमाले यो प्रशंगमा समेत चिन्ता लिने अवस्था देखिएको छैन ।
अर्कोतिर आफ्नो बहुमत नहुँदा नहुँदै पनि दुधे बालकले जस्तो संविधान संशोधनको अत्तो थापिरहेको राजपालाई समेत देउवाले गतिलो जवाफ दिएका छन् । देउवाको यो आश्वासन र प्रतिबद्धताका कारण राजपालाई निर्वाचनमा जान ‘फेस सेभिङ’को वातावरण समेत बनेको छ ।
यो पनि पढ्नुहोस् :
प्रचण्ड सोलुखुम्बु पुगेर कांग्रेसमाथि आरोप











