२४ जेठ, काठमाडौँ । सडक अनुशासन उल्लंघन गर्ने सवारी चालक तथा पैदल यात्रुका कारण काठमाडौंमा ठूलो परिमाणमा राजश्व संकलन भएको छ । मापसेदेखि पैदलयात्रीसँग लिइएको जरिवानाले राज्यकोषमा ३० करोडभन्दा बढी रकम जम्मा भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म रु ३० करोड ३० लाख ५२ हजार ९०० राजस्व सङ्कलन गरेको हो।
महाशाखाले उपत्यकामा अवैध रुपमा पार्किङ गर्ने, लेन अनुशासन पालना नगर्ने, मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने, हर्न बजाएर सवारीसाधन चलाउनेलगायत कार्यमा संलग्न सवारीचालकबाट उक्त राजस्व सङ्कलन गरेको हो ।
महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले पाँच लाख ४६ हजार ५६० सवारीसाधन कारबाहीबाट उक्त राजस्व सङ्कलन भएको जानकारी दिए।
यस्तै, महाशाखाले जेठ १६ गतेदेखि जेब्रा क्रसिङबाट बाटो नकाटी अन्य स्थानबाट बाटो काट्ने पैदलयात्रुलाई जरिवाना गर्दै आएको छ । महाशाखाले अवैधरुपमा बाटो काट्ने पैदलयात्रुलाई यातायात व्यवस्था ऐन, २०४९ को दफा १३६ र १३७ प्रयोग गरी रु २०० जरिवाना लिएको हो ।













