नयाँ प्रहरी प्रमुखमा को नियुक्त हुने हो भन्ने विवादले प्रहरी संगठनभित्रै समस्या हुने भएपछि प्रहरी मुख्यालयले मातहतका इञ्चार्जलाई आफ्नो जिम्मेवारी इमानदारितासाथ पूरा गर्न निर्देशनात्मक परिपत्र जारी गरेको छ । प्रहरी प्रमुख नियुक्ति विवादले प्रहरी संगठन समेत विभाजित हुने देखिएपछि प्रहरी मुख्यालयले कुनै अन्योलमा नपरी शान्ति सुरक्षा बलियो बनाउने कार्यमा केन्द्रित हुन मातहतका प्रहरी इन्चार्जलाई परिपत्र जारी गरेको हो ।
निमित्त प्रहरी महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेलले अनावश्यक हल्लाका पछि नलागी काममा केन्द्रित हुन परिपत्र जारी गर्दै निर्देशन दिएका हुन् ।
मिडिया तथा सामाजिक सञ्जालमा अफवाह फैलिएकाले त्यसमा विश्वास नगरी सरकारको निर्णय र अदालतको आदेशअनुसार काम गर्न परिपत्रमा निर्देशन दिइएको छ । सरकारले आइतबार डिआइजी जयबहादुर चन्दलाई आइजिपीमा बढुवा गरेको केही घन्टापछि सर्वोच्च अदालतले त्यसलाई कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश दिएको थियो । त्यसपछि प्रहरीमा कमान्ड समस्या देखिएको छ ।
अदालतको आदेशपछि सरकारले प्राविधिकतर्फका एआइजी डा. पोखरेललाई सोमबार अबेर निमित्त महानिरीक्षकको जिम्मेवारी दिएको थियो। मंगलबारदेखि महानिरीक्षकको सचिवालयमै बसेर डा. पोखरेलले प्रहरीको कमान्ड सम्हालेका छन् ।
यसैबीच उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले कानुनी शासनको पालनामा कसैसँग कुनै सम्झौता नगरी दृढतापूर्वक काम गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् । मंगलबार दिउँसो गृहसचिवसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखलाई सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा डाकेर मन्त्री निधिले यस्तो निर्देशन दिएका हुन् ।













