२६ पुस, काठमाडौं। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म गरिने श्रीस्वस्थानी व्रतका लागि प्रसिद्ध तीर्थस्थल साली नदीमा मेला आयोजनाको तयारी पूरा भएको छ । माधवनारायण स्वस्थानी मेला लाग्ने साँखुस्थित सालीनदीमा मेलाको तयारी पूरा भएको मेला आयोजक समितिले जानकारी दिएको हो ।
माधवनारायण स्वस्थानी व्रत तथा सालीनदी सुधार समितिले साँखुमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस वर्षको एक महिने मेलामा यातायात, शान्ति सुरक्षा, लाइन एवम् बजार व्यवस्थापन, प्रसाद वितरण, स्वयम्सेवक परिचालन आदिका लागि १७ उपसमिति गठन गरी सबै तयारी पूरा गरिएको समितिका संयोजक राजुभाइ मानन्धरले बताए ।
“विगत केही वर्षदेखि सालीनदीमा आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ, भारतका विभिन्न स्थानबाट समेत धार्मिक पर्यटक सालीनदीमा आउने क्रम बढ्न थालेकाले मेलालाई अझ व्यवस्थित बनाइने छ”, उनले भने ।
यस वर्ष यही पुस २८ देखि आगामी माघ २८ गतेसम्म सालीनदी मेला लाग्नेछ । एक महिनामध्येको कुनै एक दिन मात्र भए पनि साली नदीमा गई स्नान गरे पाप पखालिएर पुण्य कमाइने धार्मिक विश्वास छ । श्रीस्वस्थानी व्रतकथामा समेत साली नदीको धार्मिक महत्वबारे प्रकाश पारिएको छ । पौराणिककालमा साँखु क्षेत्रलाई लावण्य देश भनी वर्णन गरिएको छ ।












