१६ मंसिर, काठमाडौं । एमाले भ्रातृ संगठन अनेरास्ववियुले विहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन गरेको छ । काठमाडौंको त्रिचन्द्र कलेजबाट सुरु भएको अनेरास्ववियुको जुलुशले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन गरेको छ । घण्टाघरबाट सरकारविरुद्ध नारावाजी गर्दै पुतलीसडक पुगेको जुलुशले पुतलीसडकमा प्रधानमन्त्रीको पुत्ला जलाएको हो । प्रदर्शनकारीले प्रचण्ड चोर देश छोड भन्ने नारा लगाएका थिए ।
सरकारले ल्याएको संविधान संशोधनको प्रस्तावको विरोधमा एमालेका भ्रातृ संगठनहरुले विहीबार राजधानीका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् । एमालेको भ्रातृ संगठन युवा संघ तथा अनेरास्ववियुले विभिन्न स्थानमा प्रदर्शन गरेका हुन् ।
नयाँ वानेश्वरमा प्रदर्शनकारीहरुले सरकारी गाडीमा तोडफोड गरेका छन् । प्रदर्शनकारीका कारण सडक अवरुद्ध हुँदा सवारी आवागमनमा समेत समस्या परेको थियो ।
तस्वीर : जयराज थपलिया














