२१ असोज, काठमाडौं । सशस्त्र प्रहरी बल मुख्यालयले राजधानीमा विभिन्न ४३ स्थानमा लिङ्गे पिङ हालेको छ । लिङ्गे पिङ लोप हुन लागेको भन्दै संस्कृति र परम्पराको संरक्षण गर्दै सर्वसाधारणलाई मनोरञ्जन गराउन लागि यस्तो कार्य गरिएको सशस्त्र मुख्यालयले जनाएको छ ।
नेपालीहरुको महान चाड बडा दशैं, तिहार तथा छठको अवसर पारेर सर्वसाधारणलाई मनोरञ्जन दिने उद्देश्यले सशस्त्र प्रहरी बलले शुक्रबारसम्म देशभर करीब ४३ ठाउँमा लिङ्गेपिङ हालेको विज्ञप्तीमा जनाइएको छ ।
सशस्त्र प्रहरी बलको युनिट नजिकै तथा सर्वसाधारणलाई पायक पर्ने ठाउँमा लिङ्गे पिङ हालिएको हो ।
उपत्यकाको बलम्बु, घट्टेकुलो, सुकेधार, पुरानोबानेश्वर, सिनामंगल, धुम्बाराही, सल्लाघारी, नारायणटार, निलबाराही मन्दिर, खुमलटार, कुसुन्ती, भैसेपाटी, पाँगा र चोभारमा गरी १६ वटा तथा पूर्व क्षेत्रमा ९ वटा, मध्य क्षेत्रमा ६ वटा, पश्चिम क्षेत्रमा ७ वटा र मध्यपश्चिम क्षेत्रमा ५ वटा गरी कूल ४३ स्थानमा लिङ्गे पिङ हालिएको छ । अझै केही स्थानमा लिङ्गे पिङ हाल्ने क्रममा जारी रहेको सशस्त्र मुख्यालयले जानकारी दिएको छ ।
सशस्त्र प्रहरी बलले विगतका वर्षहरुमा पनि यसैगरी सर्वसाधारणलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले दशैं, तिहार तथा छठको अवसर पारेर विभिन्न ठाउँमा लिङ्गेपिङ हाल्ने गरेको थियो ।














