११ भदौ, काठमाण्डौं । नेपाल चिकित्सक सङ्घको नयाँ नेतृत्वका लागि दुई समूहबीच प्रतिस्पर्धा हुने पक्का भएको छ । आगामि भदौ १७ र १८ तथा भदौ २१ देखि २५ गते हुने दुई चरणको निर्वाचनमा प्रजातान्त्रिक चिकित्सक समूह र पेसागत समावेशी चिकित्सक समूह बीच प्रतिस्पर्धा हुने पक्का भएको हो।
तीन वर्षे कार्यकालका लागि १३ सदस्यीय कार्यसमितिका निम्ति दुवै समूह उम्मेदवारी घोषणा गरेर निर्वाचन प्रचारप्रसारमा लागेका छन्।
प्रजातान्त्रिक चिकित्सक समूहका डाक्टर मुक्तिराम श्रेष्ठ अध्यक्षमा उम्मेदवारी घोषणा गरी चुनावी मैदान उत्रिएका छन्। पेसागत चिकित्सक संघका तर्फबाट डाक्टर रमेश ढकाल खडा भएका छन्। यसैगरी प्रजातान्त्रीक चिकित्सक सघंबाट वरिष्ठ उपाध्यक्षमा डाक्टर ढुण्डी पौडेल, उपाध्यक्षमा डाक्टर मुकुन्द दाहाल, महासचिवमा डाक्टर लोचन कार्की, कोषाध्यक्षमा डाक्टर रश्मिप्रसाद यादव, सहसचिवमा डाक्टर अभिमन्यु झा र सहकोषाध्यक्षमा डाक्टर प्रकाश बुढाथोकी रहेका छन्।
पेसागत चिकित्सक संघका तर्फबाट वरिष्ठ उपाध्यक्षमा डाक्टर सन्तोष पौडेल, उपाध्यक्षमा डाक्टर सिवेन्द्र झा, महासचिवमा डाक्टर अजयकुमार मिश्र, कोषाध्यक्षमा डाक्टर रक्षा श्रेष्ठ, सहसचिवमा डाक्टर शैलेशमणि पोखरेल र सहकोषाध्यक्षमा समिर शर्मा उम्मेदवार रहने छन् ।
विक्रम संवत २००७ सालमा स्थापित सङ्घमा पाँच हजार ३०५ चिकित्सक आबद्ध रहेका छन्। काठमाडौँ उपत्यका बाहिर १५ स्थानमा भदौ १७ र १८ गते तथा उपत्यकाभित्र भदौ २१ देखि २५ गतेसम्म निर्वाचन हुने छ।












