२३ साउन, काठमाडौं । यातायात व्यवस्था विभागले २०७२ साल चैत मसान्तसम्म ट्राफिक कारबाहीमा परेका ३६ हजार १ सय ८ सवारी चालक अनुमति पत्र (लाइसेन्स)मध्ये ३४ हजार कानुनी रुपमै रद्द गरेको छ ।
प्रवक्ता बसन्त अधिकारीका अनुसार २०७२ सालमा ट्राफिक कारबाहीमा परेका सवारी चालक अनुमति पत्र, सवारी धनीपत्र (ब्लु बुक) र सवारी रुट इजाजत पत्र गरी ४९ हजारभन्दा बढीको प्रमाणपत्र ट्राफिक महाशाखाले विभागलाई उपलब्ध गराएको थियो ।
यसरी कारबाहीमा परेर आएका लाइसेन्सलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ अनुसार तोकिएको जरिवाना शुल्क तिरेर आफ्नो चालक प्रमाणपत्र फिर्ता लैजान ै विभागले एक महिने सूचना समेत प्रकाशन गरेको थियो ।
विभागले दिएको समयमा जम्मा २ हजारको हाराहारीमा मात्रै चालकले जरिवाना तिरेर आफ्नो लाइसेन्स फिर्ता लगेको अधिकारीले बताए ।
प्रक्रियागतरुपमा एक महिनाको समयमा जरिवाना दाखिल गर्दै फिर्ता नलगेपछि विभागले लाइसेन्स रद्द गरेको उनले बताए ।
लाइसेन्सबाहेक ९ हजार ६ सय १० वटा ब्लु बुक कारबाहीमा परेको प्रमाण पत्र समेत ट्राफिक महाशाखाबाट विभागमा आएको प्रवक्ता अधिकारीले जानकारी दिए ।
लेन अनुशासन, मापसे लगायतका कारबाही गर्दै ट्राफिक प्रहरीले प्रमाण पत्र समातेपछि सवारी चालकले उक्त प्रमाण पत्र नलिई राज्य संयन्त्र, विभाग र ट्राफिकलाई समेत झुक्काएर पुनः नवीकरण गर्ने गरेको विभागको दावी छ । यसरी अवैधानिक तवरबाट राज्यलाई झुक्याउँदै लिएका लाइसेन्स पनि रद्द भएको जनाइएको छ ।
काठमाडौंमा कारबाही परेपछि पूर्व पश्चिमका कुनै जिल्लामा गई उतै बसेका, हरायो भनेर पुनः लाइसेन्स लिएका अथवा पहिले नै नक्कली प्रमाण पत्र लिएकाहरु फिर्ता लिन नआएको हुन सक्ने विभागको अनुमान छ ।
अब भने देशभरका सबै यातायात व्यवस्था कार्यालयमा रद्द गरिएका सवारी चालकहरुको विवरण उपलब्ध गराउने र त्यस्ता चालकहरु पुनः काममा आउनासाथ उनीहरुको लाइसेन्न्स रद्द गराई कारबाही प्रक्रिया सुरु गर्ने विभागले जनाएको छ ।
विभागले अब नयाँ सफ्टवेयरमार्फत काम गर्दा एक ठाउँको यातायात व्यवस्था कार्यालयले अर्को ठाउँको समेत रेकर्ड हेरेर काम गर्ने हुँदा कारबाहीपछि छलेर झुक्याएर वा अन्य प्रक्रियाबाट लाइसेन्स लिने काम नगर्न समेत सबैमा आग्रह गरेको छ ।














