२३ साउन, काठमाडौं । ब्राजिलको रियो दि जेनेरियोमा सुरु भएको ओलम्पिकमा आज नेपालकी पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्दैछिन् । गौरिकाले महिला सय मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्न लागेकी हुन् । गौरिकाले अघिल्लो वर्ष सम्पन्न दक्षिण एशियाली खेलकुद सागमा पौडीतर्फ एक रजत तथा तीन वटा कास्य पदक जितेकी थिइन् । रियो ओलम्पिकमा सहभागी १० हजार ५ सय खेलाडीमध्ये गौरिका सबैभन्दा कान्छी खेलाडी हुन् ।
उता रियो ओलम्पिकमा सहभागी ७ नेपाली खेलाडीमध्ये आर्चरीका जीत बहादुर मोक्तानले पहिलो दिनको खेलमा ६ सय ७ स्कोर गरेका छन् । मोक्तानले अब दोस्रो चरणमा पर्सी भारतका खेलाडी अतनु दाससँग खेल्ने भएका छन् ।
मोक्तान र सिंह बाहेक रियो ओलम्पिकमा नेपालका पौडी खेलाडी शिरिष गुरुङ, एथ्लेटिक्सका हरी रिमाल र सरस्वती भट्टराई, जुडोकी फुपु ल्हामु खत्री तथा तेक्वान्दोकी निशा रावलले प्रतिस्पर्धा गर्दैछन् ।













