३१ असार, काठमाडौं । केपी ओली नेतृत्वको सरकारको निरन्तरताको माग गर्दै शुक्रबार काठमाडौंको माइतीघरमा ओली समर्थक युवाहरुले प्रदर्शन गरेका छन् । सामाजिक सञ्जालमा सक्रिय युवाहरु माइतीघरमा भेला भएर केपी ओलीको पक्षमा नाराबाजी गरेका थिए । सयौंको संख्यामा उपस्थित युवाले ओलीले नेपालको राष्ट्रियता बढाएको, भारतीय नाकाबन्दीको सामना गरेको, विकास र समृद्धिको बाटो लिएको भन्दै उनलाई नै प्रधानमन्त्री भएर काम गर्न दिनुपर्ने माग गरेका थिए । धेरै युवाले ’आईएमविथकेपीओली’ लेखिएको टिसर्ट लगाएका थिए ।
प्रदर्शनमा कुनै पार्टीको झण्डा प्रयोग भएको थिएन भने चिनिएका नेता कार्यकर्ता पनि उपस्थित थिएनन् । स्वतस्फुर्त जम्मा भएका युवाले केपी ओलीको पक्षमा गीत, कविता, मुक्तक सुनाएका थिए । यसअघि पोखरामा पनि केपी ओलीको पक्षमा प्रदर्शन भएको थियो ।













