१७ असार, काठमाडौं । गुण्डा नाइकेमाथि प्रहरीले फेरि निगरानी बढाएको छ । तर यसपल्टको प्रहरीको निगरानी गोली ठाक्ने नभएर पक्राउ गर्नेतर्फ केन्द्रित देखिएको छ ।
यसै क्रममा प्रहरीले ‘गुण्डा नाइके’ दीपक मनाङ्गेलाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार राति मनाङ्गेलाई काठमाडौंबाट पक्राउ गरेको हो । अवैधरुपले रकम असुली गरेका कारण मनाङ्गे र उनका सहयोगी राजिवकुमार सिंहलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।
धम्क्याएर रकम असुलेको उजुरी परेको र अनुसन्धानको लागि मनाङ्गेलाई पक्राउ गरिएको परिसर प्रमुख एसएसपी विक्रम सिंह थापाले जानकारी दिएका छन् ।
मनाङ्गेले कसलाई धम्क्याएको हो र कति पैसा मागेको भन्ने कुरा प्रहरीले गोप्य राखेको छ । आपराधिक गतिविधिबाट अकुत सम्पत्ति कमाएको मुद्दा खेपिरहेका मनाङ्गे पछिल्लो समय निष्क्रिय देखिएका थिए ।
उनी विरुद्ध विशेष अदालतमा मुद्दा चलिरहेको छ । ठमेल क्षेत्रलाई आधार बनाएर आपराधिक गतिविधिमा संलग्न मनाङ्गेको रात्रीकालीन व्यवसायमा पकड र प्रभाव छ ।
प्रहरीले काठमाडौंमा गुण्डागर्दी गर्नेहरु विरुद्ध कारबाही थालिएको बताउँदै केही समययता पुराना तथा नयाँ गुण्डाहरुलाई पक्राउ गरिरहेको छ ।
गतसाता मात्रै प्रहरीले गुन्डागर्दीको आरोपमा बाफलका जसवन्त राईलाई गोली हानी बबरमहलबाट पक्राउ गरेको थियो ।













