१४ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अन्तिम घडीमा अष्ट्रेलिया भ्रमण रद्द गर्नुको भित्री रहस्य नेपालदेशडटकमले सबैभन्दा पहिले खोलेपछि नेपाली जनसमुदायमा यसबारे धेरै चर्चा भयो । अष्ट्रेलियन मिडिया साउथएसियाडटकमको सहकार्यमा नेपालदेशडटकमले सबैभन्दा पहिले प्रचण्डको अष्ट्रेलिया भ्रमण रद्द भएको सार्वजनिक गरेको थियो ।
त्यसपछि निकै चर्चामा आएको यो घटनाले अष्ट्रेलिया सरकारलाई समेत प्रभाव पारेको छ । सोही प्रभावका कारण अष्ट्रेलियाले आफ्ना राजदूतमार्फत प्रचण्डलाई भेट्न निर्देशन दिएबमोजिम अष्ट्रेलियन राजदूत ग्लेन ह्वाइटले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई मंगलबार काठमाडौंमा भेट गरे ।
ह्वाइटले प्रचण्डलाई भेट्दै आफ्नो सरकारका तर्फबाट प्रचण्डको सुरक्षामा कुनै समस्या नरहेको आश्वासन समेत दिएका छन् । नेपाली राजनीतिमा अष्ट्रेलियाको बदनाम हुने देखेपछि अष्ट्रेलियाले राजदूत ह्वाइटलाई भेटेर घटनालाई सामान्यीकरण गर्न निर्देशन दिएको थियो ।
प्रचण्डसँग भेट गर्न राजदूत ह्वाइट मंगलबार प्रचण्ड निवास लाजिम्पाट पुगेका थिए । यसक्रममा उनले प्रचण्डको अष्ट्रेलिया भ्रमण स्थगित हुनुको कारणबारे चासो राखेको प्रचण्डको सचिवालयले जनाएको छ ।
राजदुतले आफू नियमित रुपमा अष्ट्रेलियन सरकार, त्यहाँको प्रहरी र महान्यायधिवक्ताको सम्पर्कमा रहेको र प्रचण्डलाई अष्ट्रेलियामा पक्राउ गर्ने कुनै योजना नरहेको बताएका थिए ।
अष्ट्रेलियामा प्रचण्डविरुद्ध उजुरी परेको र त्यहाँ गएको अवस्थामा खतराजनक अवस्था आउन सक्ने भएकाले भ्रमण स्थगित भएको समाचार नेपालदेशडटकमले प्रकाशित गरेको थियो ।
यद्यपि मंगलबारको भेटमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले औपचारिक जवाफ दिंदै मिडियामा आएको जस्तो स्थिति नरहेकोबारे आफूलाई अवगत भएको बताएका थिए ।
उपयुक्त समयमा आफूले अष्ट्रेलियाको भ्रमण गर्ने समेत प्रचण्डले बताएका थिए ।
प्रचण्डको अष्ट्रेलिया भ्रमण स्थगित हुनुको रहस्यबारे नेपालदेशडटकमले नेपाली मिडियामा सबैभन्दा पहिले खुलासा गरेको समाचार यस्तो थियो :
खतराजनक अवस्था आउने संकेतले प्रचण्ड अष्ट्रेलिया नगएको खुलासा












