८ असार, काठमाडौं । नेकपा माओवादीका अध्यक्ष प्रचण्डले खतराजनक अवस्था आउने देखेपछि अन्तिम घडीमा आएर अष्ट्रेलिया भ्रमण रद्द गरेको सूचना प्राप्त नेपालदेशडटकमलाई प्राप्त भएको छ । द्वन्द्वकालमा माओवादीका तर्फबाट भएका हत्याका घटना अष्ट्रेलियन मिडिया र त्यहाँ बस्ने नेपालीले जोडतोडका साथ उठाएकाले खतरा आउनसक्ने भन्दै प्रचण्डले अन्तिम समयमा भ्रमण रद्द गरेका हुन् ।
अष्ट्रेलियन मिडिया साउथएसियाडटकमडटएयुमा प्रकाशित ‘डिभाइडेड डायस्पोरा : प्रचण्डज पास्ट हन्टस् अपकमिङ अष्ट्रेलिया भिजिट’ शीर्षकको समाचारले समेत प्रचण्डको अष्ट्रेलिया भ्रमण स्थगित हुन प्रभाव पारेको बताइएको छ । यस्तो समाचार प्रकाशित भएपछि आफूलाई माओवादी निकट व्यक्तिहरुबाट धम्की आएको सो साइटका सम्पादक राम खत्रीले नेपालदेशडटकमलाई बताए । ‘माओवादी निकट केही व्यक्तिले कि राम खत्री छैन कि हामी छैनौं भनी सहकर्मीहरुमार्फत धम्की पठाएका छन्’ खत्रीले भने ।
प्रचण्डको भ्रमणबारे अष्ट्रेलियामा भैरहेको वातावरण बारे समेत समाचारमा उल्लेख छ । अष्ट्रेलियामा एकातिर प्रचण्डको भ्रमणको स्वागतका लागि तयारी भैरहेको र अर्कोतिर माओवादीका तर्फबाट द्वन्द्वकालमा हत्या गरिएका भनिएका मुक्तिनाथ अधिकारी ट्रष्टका लागि हजारौं डलर रकम संकलन भैरहेको समाचारमा उल्लेख गरिएको थियो ।
प्रचण्डबारे यस्तो समाचार लेख्ने साउथएसियाडटकमडटएयुले नै उपेन्द्र महतोले मिडिसिटी अस्पतालले दिएको औषधी अनियमितता गरेको खुलासा गरेको थियो ।
यो समाचार प्रकाशित भएपछि अष्ट्रेलिया निवासी नेपालीहरुबीच नै प्रचण्डबारे विभाजित मानसिकता बढेको बताइएको छ । माओवादी विरोधीहरुले प्रचण्डलाई कर्णेल लामाको हालत बनाउनुपर्ने भनाइ सामाजिक संजालमा लेखेका थिए । माओवादी समर्थकले पत्रकारलाई धम्की दिने र विरोधीहरुले प्रचण्डलाई आक्रमण गर्ने धम्की दिन थालेपछि आयोजकसँगको परामर्शअनुसार नै प्रचण्डको भ्रमण स्थगित भएको जनाइएको छ ।
वुधबार १ बजे अष्ट्रेलियाको उडान गर्न लागेका प्रचण्डले केही घण्टा अगाडि मात्रै भ्रमण रद्द गरेका थिए । प्रधानमन्त्री केपी ओलीको आग्रहमा भ्रमण रद्द गरेको जानकारी प्रचण्डको सचिवालयले दिएको थियो भने त्यसलगत्तै उनी कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न गएका थिए ।
अष्ट्रेलियन मिडियामा प्रकाशित समाचार हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् :
Divided Diaspora: Prachanda’s past haunts his upcoming Australia visit












