१३ असार, काठमाडौं । विश्व फुटबलमा चर्चित टीम अर्जेन्टिना कोपा अमेरिका कपको फाइनलमा पराजित भएको छ । अर्जेन्टिनाविरुद्ध चमत्कार गर्दै प्रतियोगिताको उपाधी चिलीले जितेको छ ।
आज बिहान अमेरिकाको मेटलाइफमा भएको उपाधी भिडन्तमा अर्जेन्टिनालार्इ ट्राइब्रेकरमा पराजित गर्दै चिलीले दोस्रो पटक उपाधि घर भित्र्याएको हो ।
निर्धारित ९० मिनेटमा कुनै गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । दुवै टोलीका एक एक खेलाडी रातो कार्ड खाएर मैदान छाडेका थिए । अर्जेन्टिनामा रोजो र चिलीका रोजासलाई रेफ्रिले रातोकार्ड देखाएका थिए ।
अतिरिक्त समयमा गोल गर्ने केही मौका दुवै टोलीले खेर फाल्दा खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
अर्जेन्टिनाका मेस्सी र विगलिया तथा चिलीका भिडाल चुकेको पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले चिलीले उपाधी रक्षा गरेको हो ।














