३२ जेठ, बर्दिवास । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सरकार दलहरुबीचको सहमतिमा संविधानको दोस्रो संशोधनबाट मधेस र आदिवासी जनजातिको माग सम्बोधन गर्न तयार रहेको बताउनुभएको छ ।
महोत्तरी जिल्लाको भङ्गाहा–४ रामनगरमा शान्ति तथा पुनःनिर्माण मन्त्रालयको सहयोगमा निर्मित सहिद स्मृति प्रतीक्षालयको आज उद्घाटन गर्दै मन्त्री पोखरेलले नेपाली जनता, यहाँका राजनीतिक दल र सरकार आफ्ना समस्याको पहिचान तथा समाधान गर्न सक्षम भएकाले मित्र राष्ट्रको उपदेशात्मक हल्लीखल्लीको आवश्यकता नरहेको बताउनुभयो ।

मन्त्री पोखरेलले संसद्बाट पारित भई प्रमाणीकरणको प्रक्रियामा रहेको आठौँ शिक्षा संशोधन विधेयकले मुलुकको शिक्षा विकासमा नयाँ तरङ्ग ल्याउने उल्लेख गर्नुभयो ।
शान्ति तथा पुनःनिर्माण मन्त्रालयले आव २०७०/७१, ०७१/७२ र ०७२/७३मा प्रदान गरेको रु १० लाख र स्थानीय जनश्रमदानबाट रु तीन लाखबाट सहिद स्मृति प्रतीक्षालय निर्माण भएको कार्यक्रममा जानकारी दिइएको थियो । नवनिर्मित प्रतीक्षालय २०० जना बस्न सक्ने क्षमताको रहेको निर्माण समितिका अध्यक्ष नारायण दाहालले जानकारी दिनुभयो ।
प्रतीक्षालयमा नेपालको लोकतान्त्रिक आन्दोलन र दशवर्षे सशस्त्र द्वन्द्वका बेला सहादत प्राप्त गरेका सोही बस्तीकै भक्तबहादुर निरौला, कृष्ण गिरी, भेषबहादुर निरौला, सुगियादेवी महरा र शिवशङ्कर चौधरीसहितका सहिदको पूर्ण कदका तस्बिर र जीवनसम्बन्धी झलक दिने सामग्री व्यवस्थापन गरिने लक्ष्य रहेको बताइएको छ ।
मन्त्री पोखरेलले आजै किसाननगर चौलिखास्थित जनहित नन्दलाल उमाविको रु ४८ लाखको लागतमा निर्माण हुन लागेको छकोठे पक्की भवनको शिलान्यास गर्नुभयो ।













