३० जेठ, काठमाडौं । युरोकप फुटबल प्रतियोगिता अन्तरगत आज बिहान भएको खेलमा इङ्ल्यान्ड र रुसले १(१ गोलको बराबरी खेलेपछि दुई देशका समर्थकबीच मैदानमा कुटाकुट भएको छ।
रुसले अन्तिम समयमा गोल गर्दै इङ्ल्यान्डबाट अंक खोसी खेल बराबरीमा सकेलगत्तै यी दुई देशका समर्थकहरुबीच रंगशालामै भिडन्त भएको हो। ररुसका समर्थकले आक्रमण सुरु गरेपछि यी दुई देशका समर्थकहरुबीच रंगशालाका कुर्सी भाँचेर हानाहान शुरु भएको थियो भने बोत्तलले पनि एकअर्कालाई प्रहार गरेका थिए।

झडपका क्रममा कम्तिमा १३ जना गम्भीर घाइते भएका थिए। रंगशालामै दुई देशका समर्थक भिडेपछि प्रहरीलाई स्थिति नियन्त्रणमा लिन हम्मे परेको थियो।
घटनामा रुसी समर्थकको कुटाइ खाएर इङ्ल्यान्डका एक समर्थक गम्भीर घाइते भएको फ्रान्सेली प्रहरीको भनाइ छ।
यो घटनालाई लिएर युरोपेली फुटबल संघले कडा निन्दा गरेको छ । उसले यो घटनामा संलग्नहरुमाथि काबारहीका लागि छानबिन थाल्न निर्देशन दिएको छ। रंगशालाबा शुरु भएको झडपमा सडकसम्म पुगेको थियो। उग्ररुपमा प्रस्तुत दुवै देशका समर्थकबीच सडकमा पनि झडप भएपछि फ्रान्सेली प्रहरीले स्थितिलाई नियन्त्रणमा लिएको थियो।
प्रहरीले सडकमा उत्रेका दुवै देशका समर्थकलाई लखेट्न अश्रुग्यास र पानीको फोहराको वर्षा गर्न बाध्य भएको थियो । फ्रान्सको मार्सेस्थित स्टाडे भेलोडोर्मे रंगशाला र त्यस बाहिरको सडकमा झडपमा उत्रेका ६ जनालाई स्थानीय प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ।
करिब ६८ हजार दर्शक क्षमताको यो रंगशाला बाहिरको सडकमा पनि हजारौं फुटबल समर्थक दुई देशबीचको खेल हेर्न जम्मा भएका थिए । गत नोभेम्बरमा आइएसले आक्रमण गरेपछि फ्रान्सले कडा सुरक्षा व्यवस्था मिलाउन करिब एक लाख प्रहरी उतारेको छ । त्यसैगरी प्रहरीलाई साथ दिन हजारौंको संख्यामा सेना र अर्धसैन्य बल पनि तैनाथ गरिएको छ।














