१७ जेठ, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि सनराइजर्स हैदरावादले जितेको छ । सनराइजर्सले आइतबार राति भएको फाइनलमा बलियो प्रतिद्वन्द्वी रोयल च्यालेन्जर्स बैंगलोरलाई आठ रनले हरायो ।
टस जिती पहिले ब्याटिङ गर्ने आफ्नो कप्तान डेभिड वार्नरको निर्णयलाई सही सावित गर्दै सनराइजर्सले निर्धारित ओभरमा सात विकेट गुमाएर दुई सय आठ रन बनायो । जवाफी ब्याटिङमा ओर्लिएको कप्तान विराट कोहलीको टोलीले निर्धारित ओभरमा सात विकेट गुमाएर दुई सय रनमात्र बनाउन सक्यो ।

सनराइजर्सको जितमा वार्नरले ३८ बलमा तीन छक्का र आठ चौकाको मद्दतले ६९ रनको योगदान गरे । बेन कटिङले अविजित ३९ रन बनाए । उनले केवल १५ बलमा चार छक्का र तीन चौका हिर्काए । युवराज सिंहले ३८ र शिखर धवनले २८ रन थपे । जवाफी ब्याटिङमा ओर्लिएको रोयल च्यालेन्जर्सका लागि ओपनरद्वय क्रिस गेल र कोहलीले एक सय १४ रनको साझेदारी गरे पनि त्यो जितका लागि पर्याप्त हुन सकेन ।
गेल ३८ बलमा आठ छक्का र चार चौकाको मद्दतले ७६ तथा कोहली ३५ बलमा दुई छक्का र पाँच चौकाको मद्दतले ५४ रन बनाउँदै आउट भएपछि रोयल च्यालेन्जर्स अप्ठ्यारोमा परेको थियो । लोकेश राहुल र शेन वाट्सनले ११/११ तथा सचिन बेबीले अविजित १८ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो सँख्यामा रन बनाउन सकेनन् । सनराइजर्सका बलर बेन कटिङले दुई विकेट लिए ।













