२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षको प्यानलले सीतादेवी यादवलाई कोषाध्यक्षको उम्मेदवार बनाएको छ । रामचन्द्र पौडेल प्यानलले सीतादेवी यादवलाई कोषाध्यक्ष उम्मेदवार बनाएको हो । यादवले शुक्रबार आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् ।
सिराहा क्षेत्र नं तीनकी प्रत्यक्ष निर्वाचित सांसद सीतादेवी तीन कार्यकालसम्म सिराहा कांग्रेसको सभापति भैसकेकी छिन् ।
माओवादी द्वन्द्वकालमा उनका पतिको हत्या भएको थियो । पतिको हत्यापछि उनी निरन्तर सिराहा कांग्रेसको सभापति बन्दै आएकी छिन् । केही समय पहिले भएको मधेसी दलको आन्दोलनमा उनको सिराहाको घर जलाइएको थियो । मधेसमा कांग्रेसलाई जोगाउन परिवार र घर नै गुमाएकी समर्पित व्यक्ति भएका कारण पौडेल प्यानलले उनलाई कोषाध्यक्षको उम्मेदवार वनाएको हो ।
२०५७ मा सीतादेवीका पतिको हत्या भएपछि उनको सम्पत्ति समेत माओवादीले कब्जामा लिएको थियो । ६ वर्षसम्म सम्पत्ति कब्जामा लिएपछि माओवादीले शान्ति प्रक्रियामा आएपछि मात्रै आफ्नो सम्पत्ति फिर्ता दिएको सीतादेवीले बताइन् ।
कोषाध्यक्ष पदका लागि मधेसबाट नै तीन उम्मेदवार रहेकोमा अन्य दुई व्यक्ति मन्त्री बनेर भ्रष्ट्राचारमा समेत मुछिएर बदनाम भएका कारण समर्पित नेता सीतादेवी बलियो दावेदारका रुपमा रहेकी छिन् ।
आफू कोषध्यक्ष भएमा संविधान कार्यान्वयन, आर्थिक रुपान्तरण र महिला सशक्तिकरणका लागि काम गर्ने र सोही दिशातिर पार्टीलाई केन्द्रित गर्न पहल गर्ने यादवले बताइन् । मधेसमा कांग्रेसलाई बलियो बनाउन आफ्नो घर परिवार नै गुमाएर लागेको र पार्टीको कोषाध्यक्ष भएमा अझ सशक्त रुपले काम गर्न आफूलाई वातावरण बन्ने उनको भनाइ छ ।
यो पनि पढ्नुहोस् :












