२६ माघ, काठमाडौं । कांग्रेस नेता नरहरि आचार्यको अवस्था जटील रहेको उपचारमा संलग्न चिकित्सक उपेन्द्र देवकोटाले जनाएका छन् । मस्तिष्कघातका कारण टाउकाको नशा फुटेको र अहिले नै उनको अवस्थाबारे निर्क्यौल गर्न नसकिने देवकोटाले जानकारी दिएका छन् । अबको ४ देखि ७ दिनभित्र आचार्यको स्वास्थ्यबारे ठोस निर्क्यौल गर्न सकिने उनले उल्लेख गरेका छन् ।
कांग्रेस सभापति कोइरालाको निधन भएपछि पूर्वमन्त्री आचार्य महाराजगञ्ज पुगेका थिए । कोइरालाप्रति श्रद्धान्जली दिएर फर्कने क्रममा उनी बेहोस भएका थिए । सुशील कोइरालालाई श्रद्धान्जली दिएर बाहिरिने क्रममा मस्तिकघात भएपछि अस्पताल भर्ना भएलगतै उनलाई गंगालाल पुर्याइएको थियो । त्यसपछि उनलाई बाँसबारीस्थित न्यूरो अस्पतालमा लगिएको थियो । आचार्यको होस खुले पनि उनी अझै बोल्न सक्ने अवस्थामा छैनन् । उनको शरीरको दायाँ भाग नचलेकोले पक्षघात भएको निष्कर्ष समेत चिकित्सकले निकालेका छन् ।
चिकित्सकले आचार्यको अवस्थामा ‘स्थिर र जटिल’ रहेको बताएको जानकारी दिएका छन् ।
हाइपरटेन्सनका कारण मस्तिष्कको बायाँ भागमा रगत जमेकाले उनको दायाँ भाग पक्षघात भएको सिटीस्क्यानबाट देखिएको छ ।
२५ वर्षदेखि उच्च रक्तचापबाट पीडित नेता आचार्य नियमित औषधि सेवन गरिरहेको थिए ।
आचार्यको अवस्था बुझ्न उपप्रधानमन्त्री विजय गच्छदार, एमाले महासचिव ईश्वर पोखरेल, कांग्रेस नेता गगन थापा लगायत नेताहरु उनको अस्पताल पुगेका थिए । अस्पताल पुगेर फर्केका नेता गगन थापाले भने अवस्था चिन्ताजनक नरहेको बताएका छन् ।














