१७ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाको स्वामित्वमा रहेको सभागृहको मुख्य हलमा अब सार्वजनिक समारोहको आयोजना गर्न पाइने भएको छ । ६ महिनादेखि सभागृहमा रहेको काठमाडौं महानगरपालिकाको मूख्य कार्यालय सरेपछि सो हललाई भाडामा दिन लागिएको हो । १८ औँ सार्क शिखर सम्मेलन आयोजना गरिएको सभागृह भवनलाई पुनः भाडामा दिन लागिएको हो । महानगरपालिकाले राष्ट्रिय सभागृहको प्रयोग, सञ्चालन विधि र मर्मतसम्भार निर्देशिका २०७२ जारी गरेर भाडामा दिने व्यवस्था गरेको छ । सरकारले आयोजना गर्ने अन्तराष्ट्रिय सभा, सेमिनार, गोष्ठी, राष्ट्रिय तथा अन्तराष्ट्रिय फिल्म महोत्सव र विभिन्न संघसंस्थाका अधिवेशन, महाधिवेशन लगायतका कार्यक्रम सञ्चालन गर्न सभागृह प्रयोग गर्न पाइने व्यवस्था गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म, दिउँसो २ बजेदेखि राति १० बजेसम्म भाडामा दिने व्यवस्था महानगरपालिकाले मिलाएको छ । सेवा लिनोले प्रति दिन कार्यक्रम आयोजना गर्दा १ लाख ५० हजार, विहानको आधा दिनका लागि ८० हजार र बेलुकीको आधा दिनका लागि ९० हजार रुपैयाँ तोकिएको छ । शुक्रबार बेलुका र शनिबार सञ्चालन हुने कुल सेवाको २० प्रतिशत रकम थप लाग्ने उल्लेख गरिएको छ ।













